May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

देउसी भैलोबाट संकलित रकमले भवन निर्माण

देउसी भैलोबाट संकलित रकमले भवन निर्माण

व्यास नगरपालिका–१ स्थित डमौली टोल विकास संस्था र उज्ज्वल आमासमूहले भवन निर्माण कार्य सुरु गरेका छन् । देउसी भैलोबाट संकलन भएको रकमबाट भवन निर्माण कार्य अघि बढाइएको हो ।

Advertisement

भवन नहुँदा टोल र समूहको बैठक तथा कार्यक्रम गर्न कठिनाइ भोग्नुपरेपछि भवन बनाउन कस्सिएको डमौली टोल विकास संस्थाका अध्यक्ष भक्त दरैले जानकारी दिए । टोल विकास संस्था र आमासमूहको संयुक्त लगानीमा भवन निर्माण कार्य अघि बढाइएको उनले बताए ।

Advertisement

भवन निर्माण गर्ने अठोटका साथ विभिन्न माध्यमबाट स्रोत जुटाएर दुवै संस्थाले काम गर्न लागेको उनले बताए । करिब २४ लाखमा चार आना जग्गा खरिद गरी अहिले ढलानको काम भइरहेको छ । उनका अनुसार भवन निर्माणपश्चात् संस्थाको कामकाजमा सहज हुनेछ ।

गत वर्ष नगरपालिका कार्यालयबाट भवन निर्माणका लागि १० लाख आर्थिक सहयोग गरिएको थियो । आमासमूह र टोल विकास संस्थाको गरी भवन निर्माणमा ३२ लाख खर्च हुने देखिएको छ । टोल विकास संस्थाको तुलनामा आमासमूहको लगानी बढी रहेको टोल विकास संस्थाका सचिव पदमबहादुर अधिकारीले बताए ।

एक सय १५ घर टोल विकास संस्था र आमासमूहमा आबद्ध छन् । भवन निर्माणका लागि प्रत्येक घरबाट न्यूनतम पाँच हजारका दरले रकम उठाइएको छ । साविक ठूलोगाउँ टोल विकास संस्थाबाट फुटेर विसं २०७६ मा दर्ता भएपछि पहिलो निर्वाचित कार्यसमितिका पदाधिकारीबाट भवन निर्माण कार्य भएको हो ।

उक्त वडामा २९ वटा टोल विकास संस्था रहेका छन् । त्यसमध्ये कुन्छाली, मिलन, सिर्जनशील, अडमपानी, मुसेखोला, चारकुने, रत्यौली, निर्मललगायतले आफ्नै भवन निर्माण गरिसकेका छन् । तिहारका समयमा देउसी भैलो तथा विदेशबाट आएका लाहुरेबाट खुसी मनले दिएको दान रकमले भवन निर्माण गर्न लागेको उज्ज्वल आमासमूहकी अध्यक्ष चन्द्रकला थापाले जानकारी दिए ।