April 24, 2024, Wednesday
१२ बैशाख २०८१, बुधबार

परराष्ट्रमन्त्रीद्धारा देशको जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह

परराष्ट्रमन्त्रीद्धारा देशको जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।

Advertisement

चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे ।

Advertisement

नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए । नेपालको विकास प्रक्रियालाई तीव्र गतिमा अघि बढाउन के गर्न सकिन्छ भनेर आफू चीन भ्रमण आएको उल्लेख गर्दै उनले विकासलाई तीव्रता दिन छिमेकीको सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । चीनसँगको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्न चिनियाँ पक्षसँग आग्रह गरे ।

नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा ठूलो मात्रामा सहभागिता जनाउन आग्रह गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रका तर्फबाट सहभागिताका लागि अनुरोध गरे । उनले नेपाल र चीनबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए । नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए ।

चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उनले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताए । परराष्ट्रमन्त्री श्रेष्ठले चीनलाई अत्यन्त असल छिमेकीका रूपमा लिइएको र नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याए । राजनीतिक परिवर्तपछि आर्थिक विकासलाई मुख्य कार्यभार बनाएर अघि बढिरहेको तथा सरकार आर्थिक विकासमा केन्द्रित भएको उल्लेख गर्दै उनले समृद्धिको यात्रामा छिमेकी राष्ट्र चीनको विशेष सहयोगको अपेक्षा गरिएको बताए ।

उपप्रधानमन्त्री दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा पारस्परिक लाभ हासिल हुने गरी सहयोगात्मक सम्बन्धलाई अभिवृद्धिका लागि आफूले चीन भ्रमण गरेको उल्लेख गरे । उनले दुई देशबीचको सम्बन्धलाई उच्चस्तरीय भ्रमणले थप प्रगाढ बनाएको बताए ।