May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, किन यसरी बढेको बढ्यै छ सुनको मूल्य ?

सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, किन यसरी बढेको बढ्यै छ सुनको मूल्य ?

नेपाली बजारमा आज सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैंयाले बढेर प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तराष्ट्रिय क्षेत्रमा अशान्ति, कलह बढेमा वा बढ्न सक्ने सम्भावना देखिए पनि सुनको भाउ बढ्ने गर्छ । किनभने लगानीकर्ताले लगानीको सुरक्षित क्षेत्र खोेजेका हुन्छन् । सुनलाई लगानीको सबैभन्दा सुरक्षित क्षेत्रमध्ये एक मानिन्छ ।

अहिले रुस र युक्रेन युद्धको त्रास थप बढेको छ । युद्ध नरोकिने हो कि भन्ने त्रास पनि देखिएको छ । यसले पनि विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको अनुमान गरिएको छ । यस्तै, विश्वभरको माग र आपूर्तिले पनि मूल्यमा प्रभाव गरिरहेको हुन्छ ।

सुनको भाउ बढ्नुमा अमेरिकी डलरको मजबुतीलाई पनि कारण मानिएको छ । डलर बलियो भएसँगै विश्व बजारमा सुनको भाउसमेत उकालो लागेको विश्लेषकहरु बताउँछन् ।

यता, नेपाली बजारमा भने विश्व बजारमा तय हुने मूल्यकै सीधा प्रभाव पर्छ । सुन पूरै आयातमा निर्भर छ । यसकारण पनि मूल्य निर्धारणमा हाम्रो भूमिका कम रहेको व्यवसायीहरु बताउँछन् । व्यापारीले सुनको गहना बनाएर बिक्री गर्ने भएकाले सुनको भाउमा ज्याला, जर्दीसमेत जोडर उपभोक्तलाई दिइने गरिन्छ । जसले सामान्य उपभोक्तालाई भाउ अझै महँगो पर्न जान्छ ।

मूल्य अचाक्ली बढेपछि स्थानीय बजारमा माग भने ह्वात्तै घटेको सुन व्ववसायीहरुको भनाई छ । यद्यपि, अन्तर्राष्ट्रिय बजारको अवस्था हेर्दा भाउ आगामी दिनमा अझै बढ्न सक्ने संकेतहरु देखिएका छन् । कतिपयले सुनको मूल्य छिट्टै तोलाको डेढ लाख हाराहारीमा पुग्न सक्ने भन्दै आफ्ना आँकलनहरु सार्वजनिक गरिरहेका छन् । यद्यपि, मूल्य कतिसम्म पुग्छ भनेर अहिले नै अनुमान गर्नु गलत हुन पनि सक्छ ।