May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घट्यो, सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक

वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घट्यो, सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरण हेर्दा वाणिज्य बैंकहरूको नाफा १३.४७ प्रतिशतले घटेको देखिएको छ ।

Advertisement

गत आवको सोही अवधिमा भने यस्तो नाफा ४७ अर्ब १ करोड ५२ लाख ९३ हजार रुपियाँ खुद नाफा कमाएका बैंकहरूले समीक्षा अवधिमा भने ४० अर्ब ६८ करोड ३० लाख ५२ हजार रुपियाँ कमाएका छन् । समीक्षा अवधिमा ७ वटा बैंकको खुद नाफा बढेको छ भने १३ वटा बैंकको नाफा घटेको छ । बैंकहरूको खराब कर्जा बढ्दा नाफा प्रभावित भएको वित्तीय विवरणले देखाएको छ ।

Advertisement

समीक्षा अवधिमा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशतले बढेर २ अर्ब ५ करोड रुपियाँ पुगेको छ । त्यसैगरी, लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशत बढेर १ अर्ब ६१ करोड रुपियाँ पुगेको छ भने प्राइम बैंकको १६.६६ प्रतिशत बढेर २ अर्ब ८७ करोड रुपियाँ, सिद्धार्थ बैंकको १३.०१ प्रतिशत बढेर १ अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।

यता हिमालयन बैंकको नाफा १२.०३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाको ७.५२ प्रतिशत एभरेष्ट बैंकको ५.७७ प्रतिशत नाफा बढेको छ ।

सिटिजन्स बैंकको १.९९ प्रतिशत घटेर १ अर्ब २१ करोड रुपियाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.२४ प्रतिशत घटेर २ अर्ब ४४ करोड रुपियाँ, प्रभु बैंकको ७.२७ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपियाँ, नबिल बैंकको ८.७५ प्रतिशत घटेर ४ अर्ब ६६ करोड रुपियाँ र सानिमा बैंकको १५.९० प्रतिशत घटेर १ अर्ब ४३ करोड रुपियाँ खुद नाफा गरेका छन् ।

एनएमबिको नाफा १६.४३ प्रतिशतले घटेर २ अर्ब २४ करोड रुपियाँ कायम भएको छ । त्यस्तै, कुमारी बैंकको १९.११ प्रतिशतले घटेर १ अर्ब ५ करोड रुपियाँ, नेपाल एसबिआई बैंकको ३५.४४ प्रतिशतले घटेर १ अर्ब १६ करोड रुपियाँ, माछापुच्छ«े बैंकको ३६.७२ प्रतिशत घटेर ८५ करोड ५४ लाख रुपियाँ, एनआईसी एशिया बैंकको ५३.३० प्रतिशतले घटेर १ अर्ब ९१ करोड रुपियाँ, नेपाल बैंकको ९२.६७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपियाँ नाफा गरेका हुन् ।

 

वाणिज्य बैंकहरूमध्ये सर्वाधिक नाफा घट्नेमा नेपाल बैंक र सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ११.४० प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.३५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.७२ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ६२ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर २३ रुपैयाँमा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा रहेको छ।

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब ३२ करोड रुपैयाँ सञ्चित छ। चैत अन्त्यसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह गरेको छ।