May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

एक अर्बभन्दा बढी लगानीमा बर्दिवासमा पाँच तारे होटल बन्दै

एक अर्बभन्दा बढी लगानीमा बर्दिवासमा पाँच तारे होटल बन्दै

महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ मा रु एक अर्बमाथिको लगानीमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण काम थालिएको छ । बर्दिवास चोकको नजिकै ‘होटल रामिणी’को निर्माण थालिएको हो ।

Advertisement

कोरोना महामारीमा सुस्ताएको पर्यटकीय गतिविधि पछिल्ला दिनमा बढ्न थालेसँगै होटल, व्यवसाय तथा पर्यटनलाई लक्षित गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने बढिरहेका छन् । होटल रामिणीको निर्माणका लागि एक अर्ब १० करोड लागत अनुमान गरिएको होटल रामिणी निर्माण समितिका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिए।

Advertisement

यसअघि केही महिना पहिले मात्र बर्दिवासस्थित होटल गौतमले लालगढमा ५० करोड बढी लागतमा अत्याधुनिक होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । विनायक, गुञ्ज, नाव्या र पावनमिथिला बर्दिवासमा सञ्चालन हुँदै आएका आधुनिक सेवासहितका होटल मानिन्छन् । यसबाहेक २० भन्दा बढी १० करोड लागतमा निर्माण भएका होटल बर्दिवासमा सञ्चालित छन् ।

मधेसको राजधानी र प्राचीन मिथिला राज्यको मुख्य सांस्कृतिक केन्द्र जनकपुरधाम र भारतको अयोध्यासँगको रामायणकालीन सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत जोड्ने उद्देश्यले होटल निर्माण थालिएको घिमिरेको भनाइ छ ।

आदर्श नारी सीताको माइती जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक होटल सञ्चालन भएको भन्दै यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उनले बताए । बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ । जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ ।

साथै ३५ किमी दूरीमा पर्ने जनकपुरधामका पर्यटकीय गतिविधिसँग सोझै जोडिन सकिने बर्दिवासका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । ‘रामिणी’ सीताजीकै मिथिला, वैदेही, जानकी, मैथिली, किशोरीजी र जनकनन्दिनी जस्तै नाउँ हो । जनकपुरधाम र अयोध्याका सम्बन्ध घनिभूत बनाउन र दोहोरो आवागमन सघन बनाउन सुविधा सम्पन्न होटल र यसको सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने यस होटलमा सात÷सात तलाका दुई वटा भवन बन्ने छन् । होटलमा ८२ वटा अत्याधुनिक सुविधासहितका कोठा हुने जनाइएको छ । होटल निर्माण दुई वर्षभित्र सम्पन्न भइसक्ने प्रबन्धक श्रेया पाण्डेको भनाइ छ ।

पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र भारतसँग जोड्ने बर्दिवास जलेश्वर तथा बर्दिवास सम्सी सडकको सङ्गम रहेको हुँदा यो ठाउँ आम यात्रीका लागि बसोबास गर्न उपयुक्त केन्द्र बन्दै गएको प्रबन्धक पाण्डेले बताए।

चुरे पहाडको काखमा अवस्थित बर्दिवास वरपर टुटेश्वरधाम, पञ्चधुरा माइस्थान र राइमण्डल धार्मिक क्षेत्र पर्यटकका गन्तव्य बन्दै आएका छन् । यसैगरी १० हजार वर्ष पहिलेको पाषाणकालीन हतियार कारखाना यहाँ रहेको तथ्य प्रकाशमा आउँदै गएपछि यसबारे चासो राख्ने अन्वेषकको बाक्लो आउजाउ बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए। साथै पूर्वपश्चिम राजमार्गमा मधेसको झण्डै मध्यविन्दूमा परेको हुँदा बर्दिवासमा होटल तथा पर्यटन सम्भावना बढेको उनको भनाइ छ ।

सेवा, सुविधा र अपनत्वभाव होटल तथा पर्यटन सम्भावना विकासका अपरिहार्य पक्ष रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताए। यही कुरालाई मध्यनजर गर्दै मुलुकमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेका उनले जानकारी दिए।

हाल मुलुकमा पाँच तारे होटलको सङ्ख्या २२ र चार तारे होटलको सङ्ख्या ३४ पुगेको छ । नयाँ बन्न लागेको होटल रामिणीले भारतका होटल ब्राण्डसँग छलफल गरी सेवा तथा सुविधा स्तरीय बनाइने प्रबन्धक पाण्डेले बताए । उहाँका अनुसार होटल सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् ।