May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

आन्तरिक हवाई यात्रु ११ प्रतिशतले बृद्धि, बुद्ध एयरमा यात्रा गर्ने अगाडि

आन्तरिक हवाई यात्रु ११ प्रतिशतले बृद्धि, बुद्ध एयरमा यात्रा गर्ने अगाडि

नेपालमा आन्तरिक हवाई यात्रुको वृद्धि उत्साहजनक देखिएको छ । सन् २०२४ को पहिलो ३ महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० लाख २० हजार ७ सय ७६ जनाले आन्तरिक हवाई यात्रा गरेका छन् । अधिल्लो बर्षको तुलनामा यो आन्तरिक हवाई यात्रुको संख्या ११ प्रतिशतले बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले दिएको तथ्यांकअनुसार सन् २०२३ को जनवरीदेखि फेब्रुअरीसम्म कुल ९ लाख १७ हजार १ सय ७७ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेका थिए । यात्रु संख्या २०२३ को ३ महिनाको तुलनामा २०२४ को ३ महिनामा ११ प्रतिशतले बढेको हो ।

Advertisement

सन् २०२२ को पहिलो तीन महिना (जनवरी, फेब्रुअरी र मार्च)मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) हुँदै ११ लाख ४० हजार ६ सय ३२ यात्रुले आन्तरिक हवाई सेवा प्रयोग गरेका थिए ।

Advertisement

सन् २०२४ को तीन महिनामा सबैभन्दा बढी यात्रु बुद्धले बोकेको छ । बुद्धले तीन महिनामा ६ लाख ४८ हजार २ सय ६५ यात्रुलाई सेवा दिएको छ । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक हवाई यात्रा गर्ने यात्रुको ६३.५० प्रतिशत हो । अहिले बुद्ध एयरले दैनिक ९ हजारभन्दा बढी यात्रु बोकिरहेको छ । बुद्धको कुनै दिन १० हजारसम्म यात्रु पुगेका छन् । बुद्धले सरदर ९५ सयको हाराहारीमा यात्रु बोकिरहेको छ ।

यसैगरी यतीले १ लाख ९३ हजार ९ सय ७ जनालाई आन्तरिक हवाई सेवा दिएको छ । यसैगरी यतिले पनि दैनिक ३५ सय भन्दा बढी यात्रु बोकिरहेको छ । साथै श्रीले १ लाख २८ हजार ४ सय ४९ र सौर्यले २५ हजार ७ सय २० जनालाई सेवा दिएको छ । श्री एयरले पनि दैनिक २ हजारको संख्यामा यात्रु बोकिरहेको छ ।

अहिले कोभिडले थलिएका हेलिकोप्टरको बिजनेस पनि लयमा फर्किएको छ । वायुसेवा सञ्चालक संघका मनोज कार्कीका अनुसार अहिले हेलिकोप्टरको बिजनेस रिकभरीउन्मुख रहेको छ । वायुसेवा कम्पनीहरूका अनुसार अप्रिलमा आन्तरिक हवाई यात्रुको संख्यामा नयाँ रेकर्ड कायम हुने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ ।