May 12, 2024, Sunday
३० बैशाख २०८१, आईतवार

लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका अतुल काठमाडौँमा

लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका अतुल काठमाडौँमा

यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् । उनी बिहीबार काठमाडौँ ओर्लिएका हुन् ।

Advertisement

श्रीलंका र मालदिभ्सका लागि अमेरिकी पूर्वराजदूत तथा भारतका लागि अमेरिकी नियोग उपप्रमुखको भूमिका निर्वाह गरिसकेका अमेरिकाका पूर्वकूटनीतिज्ञ केशप यतिबेला यूएस चेम्बर अफ कमर्शमार्फत सक्रिय छन् । लामो समय दक्षिण एसियामा रही काम गरेका केशप यस क्षेत्रको अर्थतन्त्र, व्यापारलाई नजिकबाट नियालेका छन् । नेपालमा अमेरिकन चेम्बर अफ कमर्श स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका केशपले नेपालमा अमेरिकी लगानी भित्र्याउनका लागि पनि विभिन्न स्थान र समयमा पैरवी गर्दै आएका छन् ।

Advertisement

सन् २०२१ मा नेपालमा अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम)स्थापना गर्दा र सन् २०२२ नोभेम्बरमा यूएस चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनका लागि पनि उनको विशेष भूमिका रहेको अमेरिकन चेम्बर अफ कमर्श, नेपाल ९एमच्याम०का महाप्रबन्धक अमीरराज थापाको भनाइ छ । “एमच्याम स्थापनापछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र तत्कालीन परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी साउद) लाई साक्षी राखेर अमेरिकी चेम्बर अफ कमर्शबाट मान्यता दिलाउनेमा पनि उहाँको योगदान ठूलो थियो”, थापाले भने । उनले एमच्यामका लागि उक्त मान्यताले ठूलो अर्थ राख्ने बताए । उक्त मान्यताप्राप्तपछि एमच्यामका लागि विश्वका विभिन्न देशमा फैलिएको यूएस चेम्बर अफ कमर्शको नेटवर्कसम्मको पहुँचमा सहज मात्रै भएको छैन विश्वास पनि आर्जन भएको उनको भनाइ छ ।

थापा नेपालमा अमेरिकी लगानी भित्र्याउने सन्दर्भमा केशपले अमेरिका र विभिन्न नेटवर्कमार्फत गरिरहेको पैरवी निकै सकारात्मक भएको बताउँछन् । उहाँ जस्तो व्यक्तित्व लगानी सम्मेलनमा आउनु हाम्रा लागि खुसीको कुरा भएको उनले बताए । “एमच्यामलाई सुरुआतदेखि नै उहाँले सहयोग गरिरहनुभएको छ । लगानी सम्मेलनमा उहाँको सहभागिताले अमेरिकी लगानीकर्तामा राम्रो सन्देश जाने हाम्रो विश्वास छ”, थापाले भने । कूल २८ वर्ष अमेरिकी सरकारका लागि कूटनीतिमार्फत सेवा गरेका उनी त्यसक्रममा भारतसँगै मोरक्को र गिनीमा रहेर काम गरिसकेका छन् । हाल उनी अमेरिका९इन्डिया बिजनेस काउन्सिल र अमेरिका बंगलादेश बिजनेश काउन्सिलका अध्यक्षका रुपमा समेत काम गरिरहेका छन् । केशपले यसअघि अमेरिकी सरकारका तर्फबाट दक्षिण एसियाका ११ वटा देशमा अमेरिकी सम्बन्ध स्थापनाका लागि काम गरिसकेका छन् । उनले कोरोना महामारीको समयमा पूर्वी एसिया र प्यासिफिक क्षेत्रमा सम्बन्ध बिस्तारका लागि प्रिन्सिपल डेपुटी सहायक सचिवका रुपमा काम गरेका थिए ।

साथै अमेरिकी वरिष्ठ अधिकारीका रुपमा एसिया प्यासिफिक आर्थिक सहकार्यका का लागि दक्षिण एसियामा रही काम गरिसकेका छन् । उनले ब्यूरो अफ साउथ एण्ड सेन्ट्रल एसियन अफेयर्स, ब्यूरो अफ इन्टरनेशन अर्गनाइजेसन अपेयर्समा निर्देशकका रुपमा योगदान दिइसकेका छन् । कुटनीतिज्ञका रुपमा अमेरिका र भारतबीच सम्बन्ध बिस्तारमा पनि उनको ठूलो भूमिका छ । साथै सिभिलियन न्यूक्लियर इनर्जी कोअपरेसनलाई टुंगोमा पुर्याउन, अमेरिका, भारत तथा जापानबीच त्रिपक्षीय सम्बन्ध बिस्तारका लागि पनि काम गरेको उनको अनुभव छ । उनले उच्च तहमा रही द्विपक्षीय र बहुपक्षीय सम्बन्ध बिस्तारका लागि यूरोपियन संघ, संयुक्त राष्ट्र संघ, असान, एपेक र इन्डो प्यासिफिक, मध्यपूर्व, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका विभिन्न निकायसँग काम गरिसकेका छन् ।

एमच्यामका महाप्रबन्धक थापा नेपालमा हाल कायम अमेरिकी लगानीको सुरक्षा गर्दै दिगो बनाउन र थप लगानी नेपाल ल्याउनका लागि केशपको भूमिका महत्वपूर्ण हुनसक्ने बताउँछन् । केशवले लगानी सम्मेलनमा वक्ताका रुपमा सहभागिता जनाउने छन् । उनले लगानी सम्मेलनमार्फत नेपालमा लगानीको वातावरण, सम्भावित क्षेत्रमा अमेरिकी लगानीको सम्भावनाबारे आफ्ना धारणा राख्नेछन् । उनको उपस्थितिले अमेरिकी चेम्बर अफ कमर्शमा आबद्ध विश्वका एक सय ३० भन्दा बढी संस्थामा आबद्ध लगानीकर्ताहरुमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।

हालैका दिनमा अर्थमन्त्री वर्षमान पुन अमेरिका भ्रमणका क्रममा वासिङटन डिसीमा केशपले नै स्वागत गरेका थिए । उनले कोकाकोला, डिज्नी र मेटलाइफलगायतका प्रतिनिधिसँगको भेटका लागि सहजीकरण गरेका थिए । केशपलाई अमेरिकन च्याम्बर अफ कमर्स नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठ लगायतको टोलिले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थ्लमा स्वागत गरेका थिए ।