May 13, 2024, Monday
३१ बैशाख २०८१, सोमबार

आगामी डेढ वर्षभित्र देशलाई विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री

आगामी डेढ वर्षभित्र देशलाई विद्युतीकरण घोषणा गर्नेछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए । उनले उत्पादित जलविद्युत देशभित्र नै खपत गर्नेगरी विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए ।

Advertisement

उनले विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको बताए । प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए । उनले नेपालको जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको बताए ।

उनले भने ‘देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न नेपाल सरकारले विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रीपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको छ । यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशा निर्देश गर्नेछ । विद्युत् खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर बिस्तार मात्रै भएको छैन, यसले पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको छ । सरकारी र निजी क्षेत्रबाट देशभर चार्जिङ स्टेसनहरू स्थापित भइरहेका छन् । अहिले करिब ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट पनि हो ।’

प्रधानमन्त्री दाहालले प्रसारण लाइन बिस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताए । उनले विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरू अघि बढाउन आवश्यक रहेको बताए । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एसियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी—काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।