भौतिक व्यापारबाहेक विद्युतीय व्यापार तीब्र रूपमा विस्तार हुँदै गएको छ । दैनिक उपभोग्य वस्तु (खाना, खाजालगायत) देखि, लत्ताकपडा, घरायसी सामान लगायतका वस्तु तथा सेवाको खरिदबिक्री अनलाइनबाटै हुने प्रवृत्ति बढ्दो छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्म नेपालमा कुल ९ खर्ब ८४ अर्ब ५४ करोड रुपैयाँ बराबरको अनलाइन कारोबार भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस अवधिमा ६ हजार ८ सय ३१ पटक कार्डमार्फत भुक्तानी भएको देखिँदै अनलाइन भुक्तानी प्रयोगमा उत्साहजनक वृद्धि देखिएको छ।
पाँच महिनाको अवधिमा अनलाइन कारोबार र कार्ड प्रयोग सबैभन्दा बढी साउन महिनामा देखिएको छ, जहाँ १ हजार ६ सय ६३ पटक कार्ड प्रयोग भई दुई खर्ब १४ अर्ब ८ सय १२ बराबरको भुक्तानी भएको थियो। चाडपर्वको समय भए पनि कात्तिक महिनामा अनलाइन भुक्तानीको संख्या र कारोबार रकम दुवैमा कमी आएको देखिन्छ। साउनको तुलनामा कात्तिकमा कार्ड प्रयोग घटेर १ हजार ८ पुगेको छ भने कारोबार रकम पनि घटेर एक खर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ।
कात्तिकमा घटेको डिजिटल कारोबार मंसिर महिनामा फेरि सुधारिएको थियो । मंसिरमा कार्ड प्रयोगकर्ताको संख्या बढेर एक हजार २ सय ९६ पुग्यो भने भुक्तानी रकम पनि बढेर दुई खर्ब चार अर्ब ४१ करोड ९० लाख रुपैयाँ भएको थियो । यो साउनपछिको दोस्रो उच्च कारोबार हो । उक्त तथ्यांकले नेपाली उपभोक्ताहरू क्रमशः परम्परागत नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित भइरहेको देखाएको छ ।
यसैक्रममा राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल ई–कमर्सको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको र यसलाई थप व्यवस्थित बनाउन सरकारीस्तरमा नयाँ पहलहरू भइरहेको बताउँछन् । ई–कमर्स क्षेत्रलाई थप परिस्कृत, सुरक्षित र व्यवस्थित बनाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नयाँ निर्देशिका तयार पारिरहेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता पौडेलले ई–कमर्सलाई प्रभावकारी बनाउन केवल भुक्तानी प्रणाली मात्र डिजिटल हुनु पर्याप्त नरहेको बताएका छन्। उनले भने, व्यवसाय दर्ता, वेबसाइट विवरण र अन्य प्रशासनिक कार्यहरू पनि डिजिटल हुनुपर्ने आवश्यक छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई पहिले नै डिजिटल बनाइसकेको छ भने मन्त्रालयको नयाँ व्यवस्थाले ई–कमर्सको पूर्ण चक्रलाई समेट्दै विद्युतीय भुक्तानी सुरक्षित, कारोबार पारदर्शी र नियमित हुने अपेक्षा गरिएको छ। यसरी व्यवस्थित गर्दा उपभोक्ताको गुनासो सम्बोधन हुने र अनलाइन व्यापारमा विश्वास बढ्ने उनको भनाइ छ।
‘विद्युतीय व्यापार निर्देशिका २०८२’ जारी गर्ने तयारी अन्तिम चरणमा
विद्युतीय व्यापार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउनका लागि ‘विद्युतीय व्यापार निर्देशिका २०८२’ जारी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । निर्देशिकाको मस्यौदामा सरोकारवालाहरूबाट प्राप्त सुझावहरूलाई समेट्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै अन्तिम रूप दिने बताएको छ ।
मन्त्रालयका आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार, यो निर्देशिका कुनै ठूलो कानुनी परिवर्तनका लागि नभई विभागमा हुने दर्ता प्रक्रिया र कार्य सञ्चालनमा रहेका अन्योलहरू चिर्न ल्याउन लागिएको हो । मुख्य कानुनी व्यवस्थाहरू मूल ऐनमै स्पष्ट भए पनि विभागलाई दैनिक काममा स्पष्टता प्रदान गर्न र ऐनका केही प्रावधानहरूको विस्तृत व्याख्या गर्न निर्देशिका आवश्यक परेको महाशाखा प्रमुख पोखरेलले जानकारी दिएका छन् ।
विद्युतीय व्यापार ऐन, २०८१ को दफा ३७ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको यस निर्देशिकाले अनलाइन व्यापार गर्ने फर्म र कम्पनीहरूका लागि नयाँ र कडा व्यवस्था लागु गरेको छ । ई–कमर्स ऐन २०८१ को प्रभावकारी कार्यान्वयन गर्न आवश्यक भएकाले उक्त निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउने निर्णय चालु आवको पहिलो त्रैमासको बैठकले निर्णय गरेको थियो । सोहीअनुसार मन्त्रालयले मस्यौदा तयार पारेको हो । उक्त मस्यौदामाथि खुला रूपमा एक साताभित्र राय सुझाव दिन मन्त्रालयले पुस २८ गते सूचना प्रकाशन गरेको थियो । आम सरोकारवालाहरूलाई माघ ७ गतेसम्ममा सुझाव दिन भनिएको छ ।
सार्वजनिक बिदा सकिएलगत्तै विभागले निर्देशिकालाई फाइनल गर्ने प्रक्रिया पुनः सुरु गर्ने महाशाखा प्रमुख पोखरेलले जानकारी दिएका छन । यस निर्देशिकाले अनिवार्य दर्ता र डाटा सुरक्षा जस्ता विषयमा पनि ऐनकै प्रावधानहरूलाई टेकेर थप स्पष्टता प्रदान गर्ने उनले जनाए ।
महाशाखा प्रमुख शिवराम पोखरेल भन्छन्, “ई–कमर्सलाई उपभोक्तामैत्री बनाउन निर्देशिकामा विशेष व्यवस्था गरिँदैछ । विशेषगरी ई–कमर्स व्यवसायहरूले अनिवार्य रूपमा बिलबिजक जारी गर्नुपर्ने विषयलाई महत्त्व दिइएको छ, ताकी सबै कारोबारहरू करको दायरामा आउन सकून् र उपभोक्ता ठगिनबाट जोगिउन । ई–कमर्स अहिलेको समयको माग हो । त्यसैले यसलाई पारदर्शी बनाउनु आवश्यक छ ।”
ई–कमर्स निर्देशिकाका यस्ता छन् मुख्य प्रावधान
अबदेखि अनलाइन व्यापार गर्ने प्रत्येक व्यवसायीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरणको व्यवस्था हुने भएको छ । जारी ई–कमर्सको मस्यौदाअनुसार सानादेखि ठूला सबै ई–कमर्स व्यवसायीहरूले अनिवार्य रूपमा सरकारी पोर्टलमा दर्ता हुनुपर्ने छ । यो दर्ता प्रक्रिया निःशुल्क हुने भएता पनि सबैका लागि अनिवार्य गरिएको छ । यसका साथै, व्यवसायीहरूले उपभोक्ताको व्यक्तिगत जानकारी सुरक्षित राख्नुपर्ने र डाटामा कुनै समस्या आएमा विभागलाई तत्काल जानकारी गराई व्यवसाय रोक्नुपर्ने प्रावधान रहेको छ ।
आवश्यक विवरण पेस गरेको सात दिनभित्र विभागले सूचीकरण नम्बर उपलब्ध गराउनुपर्नेछ । पुरानो फर्मका लागि निर्देशिका जारी भएको ३५ दिनभित्र सूचीकरण भइसक्नुपर्नेछ । यदि कसैले सूचीकरण नगरी व्यापार गरेको पाइएमा, निरीक्षण अधिकृतले सात दिनको समय दिनेछ । सो अवधिमा पनि सूचीकरण नगरे प्लेटफर्म नै खारेज गर्न सकिने व्यवस्था गरिएको छ ।
सबै व्यवसायीले नेपाल राष्ट्र बैंकबाट स्वीकृत डिजिटल पेमेन्ट गेटवे मात्र प्रयोग गर्नुपर्नेछ । भुक्तानी असफल भएमा वा वस्तु फिर्ता गर्नुपर्ने अवस्थामा व्यवसायीले सात दिनभित्र रकम फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्नेछ । नगद कारोबारको हकमा पनि अनिवार्य रूपमा विद्युतीय विजक जारी गर्नुपर्नेछ ।
अनलाइन व्यवसायीले आफ्नो कारोबार, बिल र गुनासो सुनुवाइको विवरण कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ। निरीक्षण अधिकृतले जुनसुकै समयमा प्लेटफर्मको अनुगमन गर्न सक्नेछन्। निर्देशिका लागु भएपछि भ्रामक विज्ञापन, नक्कली विवरण र ठगी गर्ने व्यवसायीमाथि कडा निगरानी हुने अपेक्षा गरिएको छ।
व्यापार विज्ञ सैंजुका अनुसार, घरमै बसेर ल्यापटपबाट सानो व्यवसाय गर्नेहरूका लागि सात दिनको समय सीमा र पाँच वर्षसम्मको अभिलेख राख्नुपर्ने व्यवस्थाले अप्ठ्यारो पार्न सक्छ । उनले सुझाव दिँदै भने, “हाल वाणिज्य विभागसँग उच्चस्तरीय प्राविधिक जनशक्ति र आईटी युनिटको अभाव छ । द्रुत गतिमा परिवर्तन भइरहेको प्रविधिलाई नियमन गर्न विभागको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।”
यससँगै, डाटा संरक्षण र इन्क्रिप्सनका स्ट्यान्डर्डहरू स्पष्ट नभएमा फरक–फरक व्याख्या हुन सक्ने र यसले व्यवसायीहरूलाई अन्योलमा पार्न सक्ने उनको तर्क छ । “नीतिगत व्यवस्थालाई सफल बनाउन उपभोक्ता सचेतना र व्यवसायीहरूका लागि ओरिएन्टेसन कार्यक्रमहरू आवश्यक छ । ‘ब्ल्याक एन्ड ह्वाइट’को रूपमा मात्र नहेरी प्राविधिक पक्षहरूलाई मध्यनजर गर्दै लचिलो र समयसापेक्ष परिमार्जन गर्दै लैजानुपनु पर्छ,” पूर्वसहसचिव सैंजुले भने ।
यदि नियमनका नाममा कडा प्रावधानहरू मात्र ल्याइयो भने यसले ई–कमर्स क्षेत्रको विकासमा बाधा पुर्याउन सक्नेतर्फ उनले सचेत गराए ।


