चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोड रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन । जुन गत आवाको सोही अवधीभन्दा ५२ प्रतिशत बढी हो।
गत आवको ६ महिनाको अवधिमा भने ३१ अर्ब ६७ करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवमा यहाँबाट हुने निर्यात ५२ प्रतिशतले बढेको बताए ।
चालु आवको ६ महिनामा २५ अर्ब ४२ करोड रुपैयाँ मूल्यको भटमासको तेल प्रशोधित निर्यात भएको छ । ३ अर्ब ४८ करोड रुपैयाँ मूल्य पर्ने फलफूलको जुस र तीन अर्ब ५५ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । त्यसैगरी, २ अर्ब २५ करोडको पाम तेल र १ अर्ब ७८ करोडको कपडा निर्यात भएको छ।


