महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न भएको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरुप बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हो ।
सोही अन्तर्गत बैंकले लायन्स क्लब अफ काठमाण्डौँ गुँराससँगको सहकार्यमा श्री गन्धकुटी विहार खोकना, वडा न. २१, ललितपुरमा बृहत स्वास्थ्य शिविर सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । स्तन क्यान्सर, सर्भिकल क्यान्सर, कोलोन क्यान्सर जस्ता क्यान्सररोगको पहिचान, मधुमेह तथा थाईराइड रोगको पहिचान र साधारण स्वास्थ्य परिक्षण तथा दन्त परिक्षण कार्यको लागि आर्थिक सहयोग गरेको हो । त्यसैगरी सवारी दुर्घटना न्युनीकरण, सवारी व्यवस्थापन, सडक फुटपाथ तथा विभिन्न स्थानहरुमा जथाभावी रुपमा अव्यवस्थित पार्किङ समस्या समाधान गर्न ट्राफिक प्रहरी वृत्त, महाराजगञ्ज, काठमाण्डौँसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतहरु रहेको रोड फर्निचरहरु हस्तान्तरण गरिएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरण केन्द्र नेपालको सहकार्यमा परम्परागत व्यवसायिक सीप, पेशा एवम् कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षमता अभिवृद्धि तथा आर्थिक उपार्जन गर्नको निमित्त सहयोग गर्ने उद्धेश्यका साथ हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा न. १ देखी ६ वडा सम्मका व्यक्तिहरुलाई सिलाई मेसिन वितरण गरिएको छ । यसका साथै भानुपथ, सिदार्थनगर-०९, रुपन्देहीमा रहेको श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माण गर्नको लागि बैंकको भैरहवा शाखा कार्यालय मार्फत आर्थिक सहयोग गरिएको छ । खेलमैदानमा भाष्टक राखी रोलिङ्ग गराई पानीको निकास गर्न आवश्यक पर्ने निर्माण कार्य गर्न बैंकले सहयोग गरेको हो । बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिएका बैंकले जनाएको छ ।


