ग्रामीण तथा अर्ध–सहरी क्षेत्रका साना तथा मझौला उद्यमीलाई वित्तीय सहयोग पुर्याउने उद्देश्यले घुम्ती कोष सञ्चालनमा आएको छ । जर्मन विकास बैंकको आर्थिक सहयोगमा स्थापित यस कोषको सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच मंगलबार औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
दिगो आर्थिक विकास परियोजना अन्तर्गत सुरु गरिएको यस कोषले खासगरी बैंक र वित्तीय संस्थाको पहुँच कम भएका क्षेत्रमा उद्यमशीलता विकास र रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । समझदारी अनुसार, राष्ट्रिय वाणिज्य बैंकले यो कोषमार्फत स्थानीय साना तथा मझौला उद्यमीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेछ ।
यस पहलले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै स्थानीय स्रोत र साधनको परिचालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार, यो कोषको परिचालनबाट मुलुकको समावेशी र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न थप बल पुग्नेछ ।


