Banijya News

मध्यपूर्व तनावका कारण एचडिपी पाईपको मूल्यमा वृद्धि

1
1.1K Shares

एच.डि.पी पाईप उत्पादक संघले हाल केही मिडियामा एच.डि.पी पाईपमा ३०–४० प्रतिशत अस्वभाविक मूल्यवृद्धि भएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले जारी प्रेस विज्ञप्तिमार्फत मूल्यवृद्धि अस्वभाविक नभएको र अन्तर्राष्ट्रिय अवस्थासँग सम्बन्धित रहेको स्पष्ट पारेको छ।

संघका अनुसार, एच.डि.पी पाईप उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ (एच.डि.पी ग्रानुल्स) तेलबाट उत्पादन हुने भएकाले हाल मध्यपूर्व तथा पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा पदार्थको आपूर्ति र ढुवानीमा समस्या आएको छ। भारत लगायत अन्य मुलुकबाट आयात हुने कच्चा पदार्थ ढुवानीमा अवरोध भएपछि केही उद्योग बन्द भइसकेका छन् भने अन्य उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।

संघले भनेको छ, “प्रतिस्पर्धात्मक बजारमा मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। हालको कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले वृद्धि भएको छ। इन्धन र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले ढुवानी लागतमा थप भार परेको छ। जबसम्म मध्यपूर्वको तनाव समाधान हुँदैन र पर्याप्त कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुँदैन, मूल्यवृद्धि सीमित गर्ने सम्भव छैन।”

यसबीच संघले सदस्य उद्योगहरुलाई आफ्ना ठेक्का सम्झौता, पाईप आपूर्तिका सम्झौतामा आपसी समझदारीमा समायोजन गर्न अपिल गरेको छ। साथै बैंक तथा वित्तीय संस्थाहरुलाई पनि अस्थायी लचकता अपनाई सहयोग गर्न अनुरोध गरिएको छ।

संघले उद्योगी सदस्यहरुलाई “सुझबुझ र धैर्यता अपनाई कार्य गर्न, असामान्य परिस्थितीको फाइदा उठाएर अस्वाभाविक मूल्यवृद्धि गर्ने जोकोहीमाथि कानुनी कारवाही हुनेछ” भन्ने चेतावनीसमेत दिएको छ। संघले सम्पूर्ण उद्योगी सदस्यहरुको पेशागत हित र नैतिकता कायम राख्दै उद्योग सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ।

1

Scroll to Top