Banijya News

सिटीपे र छिटो पैसाको एकीकरण: डिजिटल भुक्तानीमा नयाँ चरणको शुरुआत

1
1.1K Shares

सिटी वालेट प्रालि (सिटीपे) र छिटो पैसा प्रालिबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो कदमअन्तर्गत आउँदो वैशाख २ गतेलाई प्रस्तावित ‘माइग्रेसन’ मिति तय गरिएको कम्पनीले जनाएको छ । यो मर्जरसँगै छिटो पैसाका सम्पूर्ण सेवाग्राही अब सिटीपेको अत्याधुनिक र फराकिलो डिजिटल प्रणालीमा समाहित हुनेछन् ।

पठाओलगायत अरू राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोका निम्ति यो मर्जर विशेष उपलब्धि साबित हुने अपेक्षा गरिएको छ । अब छुट्टाछुट्टै वालेट प्रयोग गर्नुपर्ने झन्झट हट्दै सिटीपेमार्फत एकीकृत भुक्तानी समाधान प्राप्त हुने कम्पनीले जनाएको छ । पठाओको बक्यौता र जरिवाना सिधै सिटीपेबाट तुरुन्तै भुक्तानी गरी खाता सधैँ सक्रिय राख्न सकिनेछ । सिटीपेमा आबद्ध हुने राइडरका निम्ति विशेष नगद फिर्ता अफर तथा अरू ‘निष्ठा’ पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिजिटल सेवाको अनुभव लिन प्रयोगकर्ताले आफ्नो मोबाइलको एप स्टोरबाट सिटीपे एप डाउनलोड गर्न सक्ने कम्पनीले जनाएको छ । सिटीपेका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले छिटो पैसाका सबै ग्राहक, विशेष गरी सडकमा मिहिनेत गर्ने राइडरलाई सिटीपे परिवारमा स्वागत गर्न आतुर रहेको बताए । यो मर्जर दुई संस्थाको मिलन मात्र नभई सेवाग्राहीका निम्ति थप सुविधा, सुरक्षा र लाभ सुनिश्चित गर्ने कदम भएको उनले उल्लेख गरे ।

1

Scroll to Top