कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा सार्वजनिक गरिएको उक्त कथा संग्रहको अनावरण बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले गरेका हुन् ।
बैंकले वित्तीय साक्षरतालाई केवल सूचना नभई व्यवहार परिवर्तन गर्ने प्रक्रिया भएको उल्लेख गर्दै कथा र भिडियो सामग्रीले आम नागरिकमा यसको प्रभावकारी पहुँच बढाउने विश्वास व्यक्त गरेको छ। बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग र आर्थिक योजना जस्ता विषयलाई सरल र सन्देशमूलक कथामार्फत प्रस्तुत गरिएको छ।
उक्त सामग्री देशभरका विद्यालयहरूमा वितरण गरिनेछ, जसले विद्यार्थीमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन र बचत गर्ने बानी विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ । त्यसैगरी बैंकले “lAphaGrow Savings Account” खोल्ने ग्राहकहरूलाई प्रोत्साहनस्वरूप खुत्रुकेसहित कथा संग्रह उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।
कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण गरी सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गर्ने योजना पनि रहेको छ। बैंकले वित्तीय साक्षरता आजको आवश्यक विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ विस्तार गर्दै समुदायस्तरमै वित्तीय पहुँच र जिम्मेवार बैंकिङ अभ्यास प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।


