Banijya News

३६ लाख निष्क्रिय खातामा थन्किएको पौने १८ अर्ब राज्यकोषमा लैजाने तयारी

1
1.1K Shares

नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा १० वर्ष वा सोभन्दा बढी समयदेखि कुनै कारोबार नभई थन्किएका ३६ लाखभन्दा बढी निष्क्रिय खाताहरूमा झण्डै पौने १८ अर्ब रुपैयाँ निक्षेप रहेको तथ्य सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत असार मसान्तसम्ममा यस्ता निष्क्रिय खाताहरूको सङ्ख्या ३६ लाख ४५ हजार ५९३ रहेको छ, जसमा कुल १७ अर्ब ६३ करोड रुपैयाँ रकम जम्मा भई बसेको छ।

औसतमा हेर्दा एउटा खातामा झण्डै ५ हजार रुपैयाँ रहेको देखिन्छ, जुन सामान्य नागरिकका लागि सानो रकम भए पनि राष्ट्रिय अर्थतन्त्र र सरकारी स्रोतको परिचालनका दृष्टिले यो एक ठूलो परिमाण हो। वर्तमान सरकार गठन भएलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’ अन्तर्गत बुँदा नम्बर ७८ मा १० वर्ष वा सोभन्दा लामो समयदेखि निष्क्रिय रहेका बैंक खाताको पैसालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सरकारी कोषमा ल्याउने योजना अघि सारिएको छ।

यो कार्यसूची सार्वजनिक भएसँगै बैंकिङ क्षेत्रमा यसको कार्यान्वयन प्रक्रिया र यसले पार्न सक्ने संवैधानिक तथा कानुनी प्रभावका बारेमा तीव्र बहस सुरु भएको छ। अर्कोतर्फ, २० वर्ष वा सोभन्दा बढी समयदेखि दाबी नभई राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा गइसकेको रकम भने हालसम्म ६ करोड ७६ लाख रुपैयाँ मात्रै रहेको छ, जसले ठूलो परिमाणको रकम अझै पनि बैंकहरूमै निष्क्रिय अवस्थामा रहेको पुष्टि गर्दछ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ११२ (१) ले निष्क्रिय खाताका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ। उक्त व्यवस्था अनुसार बैंकहरूले १० वर्षदेखि चल्तीमा नरहेका खाताहरूको विवरण प्रत्येक वर्ष राष्ट्र बैंकमा पठाउनुपर्ने हुन्छ। साथै, त्यस्तो रकममा हकदाबी गर्नका लागि प्रत्येक ५/५ वर्षमा सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निक्षेपकर्ता वा हकवालालाई आह्वान गर्नुपर्ने प्रावधान छ।

यदि २० वर्षसम्म पनि कोही लिन नआएमा उक्त रकम राष्ट्र बैंकको बैंकिङ विकास कोषमा जम्मा गरी विभिन्न प्रयोजनमा उपयोग गरिने व्यवस्था भए पनि, कोषमा गइसकेको रकम पछि कसैले दाबी गर्न आएमा फिर्ता दिने कि नदिने भन्ने विषयमा हालको कानुन मौन देखिन्छ। यस विषयमा बैंकिङ विज्ञ भुवन दाहाल कानुनमा स्पष्टता नहुँदा पछि समस्या आउन सक्ने बताउछन । उनका अनुसार अहिलेसम्म कोही पनि त्यस्तो रकम दाबी गर्न नआएको भए तापनि, यदि भविष्यमा उचित प्रमाणसहित कोही ग्राहक आएमा राज्यले उक्त रकम फिर्ता दिनुपर्ने नैतिक र कानुनी दायित्व रहन्छ।

सरकारले यस रकमलाई राजस्वको रूपमा जफत गर्नुभन्दा पनि विकास निर्माणका लागि एउटा स्रोत (Source) को रूपमा मात्र उपयोग गर्नुपर्ने उनको सुझाव छ । दाहालले यस विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग समेत संवाद भएको र मन्त्रीले यसलाई जफत नभई केवल परिचालन मात्र गरिने आश्वासन दिनुभएको जानकारी दिएका छन ।

सरकारले राज्यका यस्ता निष्क्रिय स्रोतहरूको प्रभावकारी व्यवस्थापनका लागि ९० दिनको समयसीमा तोकेर कार्ययोजना बनाउन अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइसकेको छ। यस सम्बन्धमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्व पौडेलबीच विभिन्न चरणमा छलफल भइसकेको छ। तर, विद्यमान कानुनी व्यवस्था अनुसार बैंकहरूले ग्राहकको पैसा सिधै सरकारलाई हस्तान्तरण गर्न नमिल्ने हुनाले ‘बाफिया’ ऐनमै संशोधन गर्नुपर्ने अवस्था छ।

राष्ट्र बैंकका अधिकारीहरूका अनुसार हाल यसका लागि आवश्यक कानुनी मस्यौदा (Draft) तयार गर्ने काम भइरहेको छ, जसले सरकारलाई यो रकम परिचालन गर्ने कानुनी आधार प्रदान गर्नेछ। यद्यपि, यो कदमको संवैधानिक वैधतामाथि भने गम्भीर प्रश्नहरू उब्जिएका छन्। नेपालको संविधानको धारा २५ ले प्रत्येक नागरिकलाई सम्पत्तिको हक प्रत्याभूत गरेको छ, जस अन्तर्गत गैरकानुनी बाहेकका सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र सञ्चय गर्ने अधिकार सुरक्षित छ।

बैंकिङ कानुनविज्ञ एवं वरिष्ठ अधिवक्ता रेशम रेग्मीका अनुसार राज्यले नागरिकको निजी सम्पत्ति कुनै पनि बहानामा जफत गर्न मिल्दैन। उनका अनुसार यदि सरकारले यो रकम चलाउनै चाहन्छ भने पनि निक्षेपकर्ताको सुरक्षा र प्रतिफलको ग्यारेन्टी गर्दै, भविष्यमा माग भएको खण्डमा तुरुन्त फिर्ता दिने सर्तमा मात्र कानुन बनाएर उपयोग गर्न सकिन्छ। यसरी ३६ लाखभन्दा बढी नागरिकको बचत जोडिएको यो संवेदनशील विषयमा सरकारले कस्तो कानुनी ढाँचा तयार गर्छ र यसले बैंकिङ विश्वासमा कस्तो असर पार्छ भन्ने कुरा आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

1

Scroll to Top