Banijya News

आईपीओ जारी गर्दै मेची इन्डष्ट्रिज

1
1.0K Shares

मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य रु. १०० दरका शेयर निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशनका लागि कम्पनीले संस्थागत परामर्श तथा निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धमा आज आयोजित एक कार्यक्रममा दुवै कम्पनीबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौतामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेले हस्ताक्षर गरेका हुन् । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धन, शेयर रजिस्ट्रार, हितग्राही खाता सञ्चालन तथा संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ ।

झापाको दमकस्थित ताराबारीमा रहेको मेची इन्डष्ट्रिज लिमिटेडले अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लक उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नै स्वामित्वको जग्गामा सञ्चालन गर्दै आएको उद्योगमा वार्षिक २१ लाख ६० हजार थान उत्पादन क्षमता रहेको जनाएको छ ।

एएसी ब्लकहरू हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने गर्दछन् । कम्पनीले उच्च चापयुक्त बाफ प्रविधि प्रयोग गर्दै ताप तथा अग्नि प्रतिरोधी ब्लक उत्पादन गर्दै आएको छ । यसका साथै कम्पनीले एएसी ब्लकसँग सम्बन्धित टाँस्ने पदार्थ, रेडिमिक्स प्लास्टर र वालपुट्टी उत्पादन गर्ने तयारी पनि तीव्र बनाएको जनाएको छ । यी उत्पादनहरू छिट्टै बजारमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।

1

Scroll to Top