नेपाली उपभोक्ताको मनमा झन्डै ४० वर्षदेखि राज गर्दै आएको लोकप्रिय चाउचाउ ब्रान्ड वाइवाइले आफ्नो यात्राको चार दशक पूरा गरेको अवसरमा ‘वाइवाइ क्लासिक’ बजारमा ल्याएको छ। सीजी फुड्स नेपालले “उही स्वाद, उही याद” भन्ने भावनालाई आत्मसात् गर्दै यो नयाँ संस्करण सार्वजनिक गरेको हो।
७५ ग्रामको तौलमा उपलब्ध यस प्याकेटको उपभोक्ता मूल्य ३० रुपैयाँ तोकिएको छ। वाइवाइको मौलिक स्वादलाई कायम राख्दै यसमा डिहाइड्रेटेड भेजिटेबल र चिली फ्लेक्स थप गरी स्वादलाई अझ परिष्कृत र सन्तुलित बनाइएको कम्पनीले जनाएको छ।
नेपाली बजारमा मात्र नभई हरेक घरको भान्सा, विद्यालयको टिफिन र होस्टेलको सम्झनासँग जोडिएको वाइवाइलाई उपभोक्ताको पुरानो भावनासँग पुनः जोड्न यो संस्करण ल्याइएको सीजी फुड्सका बिजनेस हेड उपेन्द्र प्रधानले जानकारी दिए । उनका अनुुसार वाइवाइ क्लासिकमार्फत पुराना पुस्ताका रमाइला पलहरूलाई पुनः जीवन्त बनाउने लक्ष्य राखिएको छ। ६० प्रतिशतभन्दा बढी आन्तरिक बजार हिस्सा ओगटेको वाइवाइ अहिले विश्व बजारमा पनि तीव्र गतिमा विस्तार भइरहेको छ।
विश्व चाउचाउ बजारको झन्डै ४ प्रतिशत हिस्सा ओगट्न सफल यो नेपाली उत्पादन वार्षिक २० प्रतिशतको दरले अन्तर्राष्ट्रिय स्तरमा वृद्धि भइरहेको छ। वाइवाइको यो सफलताले नेपाली उत्पादन पनि विश्वस्तरमा प्रतिस्पर्धी र गुणस्तरीय हुन सक्छन् भन्ने प्रमाणित गरेको छ। ४० वर्षको विरासत बोकेको यो ब्रान्डले ‘क्लासिक’ मार्फत आधुनिक बजारमा आफ्नो पकड अझ बलियो बनाउने विश्वास लिएको छ।

