Banijya News

सुदृढ अर्थतन्त्र र समृद्धिको संकल्प गर्दै ७१ वर्षमा नेपाल राष्ट्र बैंक

1
1.0K Shares

नेपाल राष्ट्र बैंकले सोमबार आफ्नो स्थापनाको ७१ औं वार्षिकोत्सव भव्यताका साथ मनाउँदै मुलुकको आर्थिक स्थायित्व र वित्तीय प्रणालीको सुदृढीकरणका लागि आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ। वि.सं. २०१३ साल वैशाख १४ गते प्रथम गभर्नर हिमालय शमसेर राणाको नेतृत्वमा स्थापना भएको यस बैंकले सात दशक लामो यात्रामा नेपालको मौद्रिक नीति र विदेशी विनिमय व्यवस्थापनमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ।

वार्षिकोत्सवको अवसरमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एक विशेष सन्देश जारी गर्दै समष्टिगत आर्थिक स्थायित्व मार्फत अर्थतन्त्रको दिगो विकास गर्ने र सुरक्षित एवं सक्षम भुक्तानी प्रणालीको सबलीकरण गर्ने संकल्प दोहोर्‍याएका छन । नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम मूल्य र शोधनान्तर स्थिरता कायम गर्नु बैंकको मुख्य उद्देश्य हो भने यसले बैंक नोट निष्कासन, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूको नियमन, निरीक्षण एवं सुपरिवेक्षणका साथै नेपाल सरकारको बैंकर र सल्लाहकारका रूपमा समेत महत्वपूर्ण कार्य गर्दै आएको छ।

विशेष गरी पछिल्लो समयमा केन्द्रीय बैंकले ५० करोड रुपैयाँभन्दा बढी सेयर पूँजी भएका ठूला सहकारी संस्थाहरूको वित्तीय सुशासन र जोखिमको आधारमा नियमन गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेको छ। तरल व्यवस्थापनका लागि खुला बजार कारोबार सञ्चालन गर्ने, विनिमय दर पद्धति निर्धारण गर्ने र विदेशी विनिमय सञ्चितिको कुशल व्यवस्थापन गर्ने जस्ता बहुआयामिक जिम्मेवारीहरू बैंकले कुशलतापूर्वक सम्हाल्दै आएको छ।

वित्तीय पहुँच विस्तार गर्दै आम सर्वसाधारणको बैंकिङ प्रणालीप्रतिको विश्वसनीयता अभिवृद्धि गर्न र सुरक्षित एवं आधुनिक भुक्तानी पद्धतिको विकास गर्न बैंक निरन्तर क्रियाशील रहेको छ। यस गौरवमय अवसरमा बैंकले आफ्ना कानुनी काम, कर्तव्य र अधिकारको परिधिभित्र रही सरकारको आर्थिक नीतिलाई सहयोग पुर्‍याउँदै मुलुकको समग्र वित्तीय क्षेत्रको स्थायित्वका लागि अझ प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

1

Scroll to Top