नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ साधारण सभा तथा निर्वाचन प्रक्रियाले पुन: गति लिएसँगै आज उम्मेदवारहरूको तेस्रो सूची प्रकाशन गरिँदै छ। १८ वटा वस्तुगत संघहरूको सदस्यता विवादका कारण उच्च अदालत पाटनमा परेको रिट र त्यसपछिको फैसलाले केही समय रोकिएको यो प्रक्रिया वैशाख १४ गतेदेखि सुचारु भएको हो। यसअघि प्रकाशित दोस्रो सूचीमा उम्मेदवारहरूको माग बमोजिम केही प्राविधिक हेरफेर गरिएको थियो, जसमा सुष्मा महरालाई महिला कलष्टर र जितबहादुर कार्कीलाई कोशी प्रदेश कलष्टरमा स्थानान्तरण गरिएको छ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार, मनोनयनपत्र विरुद्ध परेका दाबी विरोध र छानबिन सम्पन्न गरी आज साँझ ५ बजे उम्मेदवारहरूको परिमार्जित नामावली सार्वजनिक गर्ने तयारी छ। यस सूचीमा नाम भएका कसैले उम्मेदवारी फिर्ता लिन चाहेमा वैशाख १८ गते बिहान ११ देखि दिउँसो ३ बजेसम्मको समय उपलब्ध गराइनेछ र सोही दिन साँझ ५ बजे अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ।
उक्त निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आ-आफ्नो समूह बनाएर चुनावी प्रतिस्पर्धालाई रोचक बनाएका छन्। आगामी वैशाख २१ र २२ गते हुने यस महाकुम्भको उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा हुनेछ भने मतदान प्रक्रिया काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरिनेछ।


