नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रलाई ‘मुख्य इन्जिन’ को रूपमा परिभाषित गरेका छन्। महासंघको ६० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रको योगदानलाई सरकारले बेवास्ता गर्न नमिल्ने तर्क गरे। पूर्वाधारदेखि सेवा प्रवाहसम्म निजी क्षेत्रकै सक्रियता रहेको बताउँदै उनले निजी क्षेत्र बिना समृद्धिको कल्पना गर्न नसकिने स्पष्ट पारे।
आफ्नो कार्यकालमा चेम्बर र सीएनआई जस्ता संस्थाहरूसँग सहकार्य गरी निजी क्षेत्रका मुद्दालाई एकीकृत रूपमा अगाडि बढाएको उनले उल्लेख गरे। विशेषगरी, पुराना कानुनको सुधार र निजी क्षेत्रको प्रवर्द्धनका लागि ‘पीएसपीपी’ योजना पारित हुनुलाई उनले कार्यकालको ठूलो उपलब्धिका रूपमा लिएका छन्। नेतृत्व चयनका सन्दर्भमा, सर्वसम्मतिको प्रयास सफल नभए पनि आगामी नयाँ टिमले अधुरा कामलाई कुशलतापूर्वक अघि बढाउने विश्वास उनले व्यक्त गरे।


