Banijya News

कर नीतिका कारण बीएमडब्लू विद्युतीय गाडीको मूल्यमा भारी वृद्धि

1
1.0K Shares

नेपालका लागि जर्मन सवारी उत्पादक कम्पनी BMW को आधिकारिक आयातकर्ता तथा वितरक लक्स्मी प्रिमियम मोटर्स प्रा.लि. ले नेपाली बजारमा आफ्ना विद्युतीय सवारीसाधनहरूको मूल्यमा भारी वृद्धि भएको घोषणा गरेको छ। सरकारले हालै सार्वजनिक गरेको नयाँ आर्थिक वर्ष २०८३/८४ को बजेट र कर नीतिमा हेरफेर गरेलगत्तै कम्पनीले आफ्ना विद्युतीय मोडलहरूको मूल्य संशोधन गर्नुपरेको जनाएको हो।

यस नयाँ कर नीतिको सबैभन्दा प्रत्यक्ष र ठूलो असर BMW को लोकप्रिय इलेक्ट्रिक संस्करण BMW iX1 eDrive20 मा देखिएको छ। यसअघि यो गाडीको बजार मूल्य रु. १,९९,९६,००० तोकिएकोमा नयाँ कर प्रणाली लागू भएपछि यसको मूल्यमा एकैपटक रु. १,३०,००,००० को विशाल वृद्धि भई अब उपभोक्ताले यो मोडल खरिद गर्न रु. ३,२९,९६,००० तिर्नुपर्ने भएको छ।

सरकारले आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार तथा अन्तःशुल्कको विद्यमान व्यवस्थामा आमूल परिवर्तन गरेकै कारण यो अवस्था सिर्जना भएको हो। यसअघि विद्युतीय गाडीमा लाग्ने कर मुख्यतः मोटरको क्षमता (किलोवाट) का आधारमा तय गरिन्थ्यो भने अबदेखि गाडीको कुल आयात मूल्यलाई मुख्य आधार बनाएर कर निर्धारण गर्ने नयाँ प्रणाली लागू गरिएको छ। यो नयाँ नियमका कारण विदेशमा महँगो मूल्य पर्ने प्रिमियम र विलासी गाडीहरूमा करको भार अत्यधिक थपिएको छ, जसको सिधा असर नेपालमा गुड्ने उच्च वर्गका ईभीहरूमा परेको देखिन्छ।

लक्स्मी प्रिमियम मोटर्सका अनुसार मूल्य वृद्धि केवल iX1 मोडलमा मात्र सीमित नभएर नेपालमा उपलब्ध BMW का अन्य विभिन्न विद्युतीय मोडलहरूमा पनि लागू भएको छ र नयाँ कर संरचनाका कारण प्रत्येक गाडीको आयात मूल्य हेरी फरक–फरक दरमा मूल्य समायोजन गरिएको छ।

अटोमोबाइल क्षेत्रका विज्ञ तथा जानकारहरूका अनुसार सरकारको यो नयाँ कदमले नेपालको समग्र ईभी बजार, विशेषगरी लक्जरी र प्रिमियम ईभी सेगमेन्टलाई ठूलो धक्का दिएको छ र यसले नेपालमा विद्युतीय सवारीसाधनको मूल्य संरचनामा एउटा ऐतिहासिक फेरबदल ल्याएको छ। मूल्यमा यति ठूलो अंकको वृद्धि भए तापनि BMW गाडीको गुणस्तर, ब्रान्ड भ्यालु र आफ्ना ग्राहकप्रतिको सेवामा कुनै सम्झौता नहुने आधिकारिक वितरकको दाबी छ।

कम्पनीका अनुसार मूल्य बढे पनि BMW का विद्युतीय गाडीहरूले प्रदान गर्ने अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, उत्कृष्ट र आरामदायी यात्राको अनुभव तथा वातावरणमैत्री शून्य उत्सर्जनयुक्त ड्राइभिङको मजा नेपाली ग्राहकले निरन्तर पाइरहनेछन्। साथै, लक्स्मी प्रिमियम मोटर्सले नेपाली बजारमा BMW का विश्वस्तरीय र नवीनतम प्रविधियुक्त सवारीसाधनहरू भित्र्याउने आफ्नो प्रतिबद्धतालाई आगामी दिनमा पनि दृढताका साथ निरन्तरता दिने उल्लेख गरेको छ।

1

Scroll to Top