Banijya News

स्थानीय तहलाई प्रविधिमैत्री बनाउन ‘डिजिटल कोशी भिजन’ प्रस्तुत

1
1.0K Shares

बिर्तामोडमा सम्पन्न ‘डिजिटल कोशी संवाद–२०२६’ कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालमा स्थानीय तहसम्मै डिजिटल सुशासन विस्तार गर्ने लक्ष्यका साथ ‘डिजिटल कोशी भिजन’ को रणनीतिक कार्ययोजना प्रस्तुत गरेका छन । क्यान महासंघ कोशी प्रदेश र झापा शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, प्रविधि उद्यमी र सरोकारवालाहरूले तल्लो तहसम्मै डिजिटल रूपान्तरण आजको मुख्य आवश्यकता भएको कुरामा जोड दिएका छन्।

प्रस्तुतिका क्रममा अधिकारीले नेपाल ई–गभर्मेन्ट डेभलपमेन्ट इन्डेक्स र सार्वजनिक सेवा वितरणमा अगाडि बढे पनि निर्णय प्रक्रियामा नागरिकको डिजिटल सहभागिता भने घटेको औँल्याए । अहिले पनि ४३४ स्थानीय तहमध्ये कतिपयले सुस्त इन्टरनेटका लागि महँगो शुल्क तिर्नुपरेको र फरक–फरक प्रणालीका कारण तथ्यांकहरू आपसमा आदानप्रदान हुन नसकी ‘डेटा साइलो’ को समस्या सिर्जना भएको उनको भनाइ थियो। यसले गर्दा डिजिटल विभाजन बढ्नुका साथै स्थानीय तहका अत्यावश्यक सेवाहरू समेत प्रभावित भइरहेका छन्।

यी चुनौतीहरूलाई चिर्न अधिकारीले डिजिटल पूर्वाधार, शिक्षा, पर्यटन, साइबर सुरक्षा, उद्यमशीलता, सुशासन, स्वास्थ्य, कृषि, वित्त र स्मार्ट सिटी समेटिएको १० रणनीतिक स्तम्भसहितको ‘डिजिटल कोशी भिजन’ अघि सारेका छन । उनले स्थानीय कामलाई सुरक्षित र स्वचालित बनाउन स्थानीयकृत लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) मा आधारित सार्वभौम कृत्रिम बुद्धिमत्ता  को प्रयोग गर्न र सबै एप्लिकेसनहरूमा राष्ट्रिय न्यूनतम सुरक्षा मापदण्ड अनिवार्य लागू गर्न सुझाव दिएका छन ।

साथै, स्वदेशी प्रविधि उद्योगको प्रवर्द्धनका लागि नेपाली आईटी कम्पनीहरूलाई मात्र १ प्रतिशत कर्पोरेट कर लगाउनुपर्ने र सार्वजनिक खरिदमा स्वदेशी सफ्टवेयरलाई प्राथमिकता दिनुपर्ने नीतिगत प्रस्ताव समेत गरिएको छ। सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत हरित डेटा सेन्टर र प्रान्तीय आईसीटी प्रयोगशाला स्थापना गर्दै सूचना प्रविधिलाई खर्च नभई विकासको मेरुदण्डका रूपमा स्विकारेर ‘संघीय नेतृत्व, प्रदेशको सहजीकरण र स्थानीय तहको अग्रसरता’ अनुसार अघि बढेमा मात्र डिजिटल लोकतन्त्रको नयाँ युग सुरु हुने निष्कर्ष निकालिएको छ।

1

Scroll to Top