नेपाल विद्युत् प्राधिकरणले प्रविधिको विकाससँगै आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, सरल र भविष्य उन्मुख बनाउने उद्देश्यले ‘एनइए एआई साथी’ प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यो नवीन अवधारणाअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स लाई केवल एक जटिल प्रविधिको रूपमा मात्र नहेरी संस्थाको एक अभिन्न र सहयोगी साथीका रूपमा आत्मसाथ गरिएको छ । प्राधिकरणले परम्परागत सेवा प्रणालीलाई विस्थापित गर्दै डिजिटल रूपान्तरणमार्फत ग्राहकलाई छिटो, छरितो र झन्झटरहित सेवा प्रदान गर्न यो दीर्घकालीन रणनीति अघि सारेको हो, जसले सरकारी निकायहरूमा प्रविधिको प्रयोगको नयाँ मानक स्थापना गर्ने अपेक्षा गरिएको छ ।
यस नवीन सोचलाई व्यावहारिक रूप दिन प्राधिकरणले हालै ‘ह्याकाथन इभेन्ट–२०८२’ सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एआईलाई मानिसभन्दा टाढाको प्रविधि नभई आवश्यकता पर्दा सम्झिने आत्मीय साथी बनाउनुपर्नेमा विशेष जोड दिएका छन । ‘एआई साथी’ नाम आफैँमा जनमैत्री र आकर्षक रहेको उल्लेख गर्दै उनले यसले प्रविधिलाई जटिल नभई सहज र प्रयोगमैत्री रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको बताए । संस्थाको सहयोगी साथीका रूपमा यस एपले सेवाग्राहीलाई आवश्यक पर्ने विभिन्न जानकारी दिनुका साथै सेवा प्रवाहमा आइपर्ने कठिनाइहरू सुल्झाउन सक्रिय भूमिका खेल्नेछ ।
प्राधिकरणले एआईलाई केवल सफ्टवेयरको रूपमा मात्र नभई एउटा यस्तो संस्कारका रूपमा विकास गर्न खोजेको छ, जहाँ सेवाग्राहीले ‘एआई साथी’ भनी बोलाउने र आफ्ना समस्याहरू ढुक्कसँग राख्न सक्नेछन् । यसले सेवाग्राही र संस्थाबीचको दूरी घटाउने र प्रविधिप्रतिको विश्वास बढाउने विश्वास लिएको छ । एआईलाई संस्थागत रूपमा आत्मसाथ गर्ने उद्देश्यले आयोजना गरिएको ह्याकाथनमा संस्थाभित्रकै कर्मचारीहरूबाट २७ वटा सिर्जनशील प्रस्तावहरू प्रस्तुत भएका थिए ।
ती प्रस्तावहरू मुख्यतया ग्राहक सेवामा सुधार, प्रशासनिक कार्यप्रवाहको सरलीकरण, जटिल तथ्याङ्क विश्लेषण तथा नीतिगत एवं कानुनी सहजीकरण जस्ता महत्त्वपूर्ण र चुनौतीपूर्ण विषयहरूमा केन्द्रित रहेका छन् । ह्याकाथनमार्फत प्राप्त भएका यी प्रस्तावहरूको अब विस्तृत मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनको प्रक्रियाबाट सबैभन्दा उत्कृष्ट र व्यावहारिक ठहरिएका अवधारणाहरू छनोट गरी तिनलाई क्रमशः कार्यान्वयनको चरणमा लगिने प्राधिकरणको योजना छ । प्राधिकरणभित्रैका जनशक्तिबाट प्राप्त यस्ता आइडियाहरूले संस्थाको आन्तरिक कार्यक्षमता बढाउनुका साथै डिजिटल नेपालको सपना साकार पार्न समेत मद्दत पुर्याउनेछन् । आफ्नै कर्मचारीहरूको विज्ञतालाई उपयोग गर्दै प्रविधि निर्माणमा लाग्नु प्राधिकरणको एक प्रशंसनीय कदम मानिएको छ ।
प्राधिकरणले यस पहललाई केवल एउटा एप निर्माणको रूपमा मात्र नभई संस्थागत नवप्रवर्तन र डिजिटल रूपान्तरणतर्फको एउटा ऐतिहासिक खुड्किलोका रूपमा व्याख्या गरेको छ । ‘एआई साथी’ को अवधारणाले भविष्यमा विद्युत् महसुल भुक्तानी, गुनासो व्यवस्थापन र विद्युत आपूर्तिको जानकारी लिन ग्राहकलाई निकै सजिलो बनाउनेछ । यो डिजिटल अभियानले प्राधिकरणलाई थप सक्षम, उत्तरदायी र प्रविधिमैत्री बनाउँदै आम उपभोक्ताको मन जित्ने लक्ष्य राखेको छ ।


