Banijya News

एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष अब नागरिक लगानी कोषले व्यवस्थापन गर्ने

1
1.0K Shares

नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा एक द्विपक्षीय सम्झौता भएको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच नागरिक लगानी कोषका तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । यस सम्झौताअनुसार एभरेष्ट बैंकका स्थायी, अस्थायी तथा करार सेवामा आबद्ध सम्पूर्ण कर्मचारीहरूको योगदानमा आधारित र गैर–योगदानमा आधारित उपदान कोषका साथै अतिरिक्त अवकाश कोषको पूर्ण व्यवस्थापन अब नागरिक लगानी कोषले सम्हाल्नेछ ।

यस सहकार्यअन्तर्गत कोषले सहभागी कर्मचारीहरूको छुट्टाछुट्टै व्यक्तिगत खाता सञ्चालन गर्ने, परिचयपत्र वितरण गर्ने र बैंकले पठाएको विवरणका आधारमा खाताहरू नियमित रूपमा अद्यावधिक गर्ने जिम्मेवारी लिएको छ। साथै, सेवाबाट अवकाश प्राप्त कर्मचारीहरूलाई बैंकको सिफारिस तथा प्रचलित नियमअनुसार आवश्यक कर कट्टी गरी अवकाशबापतको रकम भुक्तानी गर्ने व्यवस्था समेत कोषले नै मिलाउनेछ।

यसरी कोषमा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याज, प्रतिफल र अन्य थप सुविधाहरू कर्मचारीहरूले कोषको विद्यमान नियमावलीबमोजिम प्राप्त गर्नेछन्। यति मात्र नभई, आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा जम्मा भइसकेको कर्मचारीहरूको साविकको सञ्चित रकम र हाल बहाल रहेका कर्जाहरूलाई समेत नागरिक लगानी कोषमा रकमान्तर गरी समायोजन गर्ने सहमति भएको छ। यस नयाँ व्यवस्थाले एभरेष्ट बैंकका कर्मचारीहरूको भविष्य र अवकाश पछिको वित्तीय व्यवस्थापनलाई अझ बढी सुरक्षित, पारदर्शी, व्यवस्थित र दीर्घकालीन रूपमा भरपर्दो बनाउन ठुलो योगदान पुर्‍याउने अपेक्षा नागरिक लगानी कोषले राखेको छ।

1

Scroll to Top