Banijya News

औद्योगिक क्षेत्रमा विद्युत् काट्ने र दबाब दिने तयारीप्रति एफएनसीसीआईको आपत्ति

1
1.0K Shares

औद्योगिक क्षेत्रभित्रका उद्योगहरूको विद्युत् लाइन काट्ने र उद्योगीहरूमाथि प्रशासनिक दबाब दिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको तयारीप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले गम्भीर चिन्ता  व्यक्त गरेको छ।

महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित करिब ७०० उद्योगलाई लक्षित गरी भइरहेका गतिविधिले उद्योग व्यवसायको वातावरण थप प्रभावित हुने जनाएको छ। विशेषगरी औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धिसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको अवस्थामा उद्योगीमाथि दबाब सिर्जना गर्ने कुनै पनि कदम उपयुक्त नहुने महासंघको धारणा छ।

महासंघका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जग्गा भाडा निर्धारणसम्बन्धी विषयमा सर्वोच्च अदालत र उच्च अदालतका फैसलामाथि पुनरावलोकनको माग गर्दै विभिन्न मुद्दा दायर गरिसकेको छ। कानुनी प्रक्रिया टुंगोमा नपुगेको अवस्थामा उद्योगीलाई बक्यौता रकम तिर्न सात दिनको समयसीमा तोक्नु र त्यसपछि विद्युत् सेवा विच्छेद गर्ने चेतावनी दिनु कानुनी राज्यको सिद्धान्तविपरीत भएको महासंघले जनाएको छ।

उद्योगीहरूले भाडा निर्धारणको आधार, दररेट तथा बक्यौता गणनाको स्पष्ट विवरण माग गरे पनि सम्बन्धित निकायबाट पर्याप्त जानकारी नपाएको महासंघको दाबी छ। यस्तो अवस्थामा उद्योग सञ्चालनमै असर पर्ने गरी विद्युत् आपूर्ति बन्द गर्ने वा प्रशासनिक दबाब सिर्जना गर्ने कार्यले औद्योगिक वातावरण थप अस्थिर बन्न सक्ने चेतावनी महासंघले दिएको छ।

महासंघले मुलुकको अर्थतन्त्र अझै सुस्त अवस्थामा रहेको र उत्पादनमूलक क्षेत्र विभिन्न चुनौतीबीच सञ्चालन भइरहेको उल्लेख गर्दै उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नु राज्यको प्राथमिक दायित्व भएको बताएको छ। उत्पादन, रोजगारी र राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका उद्योगलाई सहजीकरण गर्नुको सट्टा सञ्चालनमै अवरोध पुर्‍याउने गतिविधिले समग्र औद्योगिक क्षेत्र प्रभावित हुने महासंघको भनाइ छ।

विज्ञप्तिमा उद्योगको विद्युत् लाइन काट्ने, उत्पादन प्रक्रिया अवरुद्ध गर्ने वा उद्योग बन्द हुन सक्ने अवस्था सिर्जना गर्ने कार्यले स्वदेशी लगानीकर्ताको मनोबल कमजोर बनाउने उल्लेख गरिएको छ। साथै यस्ता गतिविधिले विदेशी लगानीकर्तामा समेत नकारात्मक सन्देश जाने र लगानी वातावरण प्रभावित हुन सक्ने महासंघले जनाएको छ।

महासंघले नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई उद्योगी व्यवसायीलाई त्रसित पार्ने तथा उत्पादन प्रवाह रोक्ने सबै गतिविधि तत्काल स्थगित गर्न आग्रह गरेको छ। साथै, जग्गा भाडासम्बन्धी विवाद कानुनी प्रक्रियाको सम्मान गर्दै संवाद, छलफल र सहमतिका आधारमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले औद्योगिक क्षेत्रको जग्गा भाडा निर्धारणलाई वैज्ञानिक, पारदर्शी र व्यवहारिक बनाउन सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै समस्या समाधानका लागि आफूहरू सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ। उद्योगमैत्री वातावरण कायम गर्दै संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नु नै वर्तमान परिस्थितिको उपयुक्त विकल्प हुने महासंघको निष्कर्ष छ।

1

Scroll to Top