एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैङ्किङ, गैर–बैङ्किङ तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रियालाई प्रविधिमैत्री र पारदर्शी बनाउन एक अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। अब ग्राहकहरूले लिलाम सम्बन्धी सूचनामा उपलब्ध क्युआर कोड स्क्यान गरी वा सिधै https://auctionassistance.nicasiabank.comमा लग-इन गरेर बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो र नक्सा सहित गुगल म्याप मार्फत त्यसको यथार्थ लोकेसन समेत सहजै पत्ता लगाउन सक्नेछन्।
सम्पत्ति खरिद गर्न इच्छुक ग्राहकहरूका लागि बैङ्कले पोर्टलमै सोधपुछको विशेष व्यवस्था समेत मिलाएको छ, जहाँ उपलब्ध म्यासेज बक्समा आफ्नो नाम, इमेल, मोबाइल नम्बर र ठेगाना उल्लेख गरी ग्राहकले सम्पत्तिका बारेमा थप जानकारी माग गर्न सक्नेछन्। यस अनलाइन पोर्टलमा लिलाम बिक्री सम्बन्धी सम्पूर्ण नयाँ सूचनाहरू नियमित रूपमा अपडेट गरिने हुँदा, इच्छुक खरिदकर्ताहरूले यस डिजिटल प्रणालीको प्रयोग गरी बिना झन्झट आधिकारिक विवरणहरू प्राप्त गरेर अधिकतम लाभ लिन सक्ने विश्वास बैङ्कले लिएको छ।


