हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गरी नयाँ रेकर्ड कायम गरेको छ। कम्पनीका अनुसार यो ठूलो सफलता ग्राहकको अटुट विश्वास, बलियो संस्थागत सुशासन र दिगो व्यावसायिक वृद्धिको परिणाम हो। यसले सरोकारवालाहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाएको कम्पनीले जनाएको छ।
कम्पनीले यस ऐतिहासिक उपलब्धिलाई आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति तथा कर्मचारीहरूको निरन्तर विश्वास, सहयोग, समर्पण र साझा प्रयासको प्रतिफलका रूपमा लिएको जनाएको छ।
सो अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले ५ अर्ब रुपैयाँको प्रिमियम आर्जन गर्नु हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक प्रतिबद्धता, ग्राहकहरूको अटल विश्वास तथा व्यवसायिक साझेदारहरूको निरन्तर साथ र सहयोगको परिणाम भएको बताइन्।
उनले यस उपलब्धिले कम्पनीलाई अझ उत्तरदायी, नवप्रवर्तनमुखी तथा ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्दै दिगो व्यवसायिक वृद्धिको यात्रालाई थप सशक्त रूपमा अघि बढ्न प्रेरणा दिएको उल्लेख गरिन्।
श्रेष्ठका अनुसार कम्पनीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रभावकारी उपयोग, ग्राहक अनुभवमा निरन्तर सुधार, दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई थप छिटो, सहज र पारदर्शी बनाउने प्रयास गरेको छ।
साथै सुदृढ जोखिम व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको उनले बताइन्।
कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरणलाई थप तीव्र बनाउने, उत्कृष्ट ग्राहक सेवा विस्तार गर्ने तथा दिगो व्यवसायिक अभ्यासलाई प्राथमिकतामा राख्दै अझ उच्च व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै, बीमा सेवाको पहुँच देशभर विस्तार गर्दै ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने रणनीतिलाई निरन्तर कार्यान्वयन गर्ने जनाएको छ।
५ अर्ब रुपैयाँ प्रिमियम आर्जनको ऐतिहासिक उपलब्धिका अवसरमा कम्पनीले आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार गरेको छ ।
साथै, आगामी दिनहरूमा पनि यस्तै विश्वास, साथ र सहयोग कायम रहने अपेक्षा पनि गरेको छ।


