सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज शुक्रबार सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार अघिल्लो आव चैत मसान्तसम्मको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको घाटा बढेको पाइएको छ ।
अघिल्लो आवको चैत मसान्तसम्म ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवको चैत मसान्तसम्म ५ अर्ब ८४ करोड रुपैयाँ घाटा व्यहोर्न पुगेको छ । दाबी भुक्तानीमा वृद्धि हुनुका साथै आम्दानी घट्दा कम्पनीको नाफामा उच्च गिरावट आएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ अर्ब १२ करोड रुपैयाँबाट १८ प्रतिशतले घटेर ५ अर्ब ८३ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । यता कम्पनीको कुल आम्दानी पनि ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँबाट २२ प्रतिशतले घटेर ६ अर्ब ८१ करोड १६ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५ अर्ब १७ करोड ८८ लाख रुपैयाँबाट दोब्बरभन्दा बढीले वृद्धि भई १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ नाघेको छ । कम्पनीको कुल खर्च पनि ७ अर्ब ७८ करोड ८५ लाख रुपैयाँबाट बढेर १२ अर्ब ५२ करोड १९ लाख रुपैयाँ नाघेको तथ्यांकले देखाएको छ ।
कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ भने स्पेशल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ । त्यस्तै, जगेडा कोष ४ अर्ब ९० करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कमपनीको प्रतिशेयर आम्दानी ४.०८ रुपैयाँबाट ह्वात्तै घटेर ४३.५१ रुपैयाँ ऋणात्मक भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.२० रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रमा देखिएको सुस्तताका कारण लगानी प्रतिफल प्रभावित भएको जनाउँदै कम्पनीले लगानीको विविधीकरण तथा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी बनाउने रणनीति बनाएको जनाएको छ ।
नेपाल पुनर्बीमा कम्पनीका निलम्बित सीईओ सुरेन्द्र थापा फरार छन् । सीईओ थापाविरुद्ध सीआईबीले सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर गरेपछि निलम्बित भई फरार भएका हुन् ।


