Banijya News

पूर्वप्रधानमन्त्रीका सचिवहरूको सम्पत्ति छानबिन गर्दै अख्तियार, अनुसन्धानमा को–को परे ?

1
1.0K Shares

उच्च राजनीतिक नेतृत्वसँग निकट रहेर काम गरेका पूर्वस्वकीय सचिवहरूको सम्पत्ति र त्यसको स्रोतबारे अनुसन्धान अघि बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन स्वकीय सचिव भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की तत्कालीन स्वकीय सचिव गंगा दाहालको परिवार परेको छ ।

आयोग उच्च स्रोतका अनुसार, उजुरी परेपछि भानु देउवाको सम्पत्तिबारे अनुसन्धान अधिकृत नै तोकेर विस्तृत विवरण संकलन गर्न थालिएको छ । उनीसँग सम्पत्ति विवरणसम्बन्धी विस्तृत फारम भराइसकिएको छ भने परिवारका सदस्यका नाममा रहेका सम्पत्तिसमेत अनुसन्धानको दायरामा राखिएका छन् ।

छानबिनका क्रममा आयोगले बैंकिङ कारोबार, जग्गाजमिन र शेयरमा रहेको लगानीलगायत विवरण जुटाइरहेको स्रोतले जनाएको छ । संकलित विवरणबाट देखिएका सम्पत्तिको वैधानिक स्रोत पुष्टि गर्न आवश्यक कागजात र थप विवरण माग्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

अख्तियारको अर्को अनुसन्धान पूर्वप्रधानमन्त्री दाहालकी तत्कालीन स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यतर्फ केन्द्रित छ । आचार्य कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री हुन् । परिवारको सम्पत्ति अनुसन्धान गर्दा आचार्यसमेत त्यसको दायरामा परेको अख्तियारसम्बद्ध स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, गंगा दाहाल र आचार्यसँग सम्बन्धित सम्पत्तिको अनुसन्धान तुलनात्मक रूपमा अगाडि पुगेको छ । उनीहरूको केही सम्पत्तिको स्रोतबारे थप विवरण र प्रमाण उपलब्ध गराउन आयोगले ताकेता गरिरहेको बताइएको छ ।

अख्तियारले राजनीतिक नेतृत्वका स्वकीय सचिवको सम्पत्तिमाथि अनुसन्धानकै क्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिबारे पनि आयोगले यसअघि नै अनुसन्धान अघि बढाएको छ । उनलाई टंगालस्थित आयोगको कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराइसकिएकोले अनुसन्धान जारी रहेको ती स्रोतको दाबी छ ।

आयोगले अहिले गरिरहेको प्रक्रिया अनुसन्धानको प्रारम्भिक तथा तथ्य संकलनको चरण हो । सम्पत्ति विवरण मागिनु वा स्रोतबारे छानबिन हुनु मात्रैबाट गैरकानुनी सम्पत्ति आर्जन भएको निष्कर्षमा पुग्न नमिल्ने र अनुसन्धानबाट प्राप्त तथ्य–प्रमाणका आधारमा आयोगले थप प्रक्रिया अघि बढाउने एक अर्का एक अधिकारीले बताए ।

1

Scroll to Top