हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको आम्दानीमा संकुचन आउनुका साथै खर्चमा उल्लेख्य वृद्धि भएपछि वित्तीय अवस्था कमजोर बनेको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ । यसको विपरीत कुल खर्च ८०.९६ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको मुख्य व्यवसायअन्तर्गतको खुद बीमाशुल्क आर्जन पनि ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ । त्यस्तै, लगानीबाट हुने आम्दानीमा २७.३० प्रतिशतको गिरावट आएको छ ।
दाबी भुक्तानीमा भएको वृद्धिले पनि कम्पनीको खर्च बढाउन योगदान गरेको देखिन्छ । समीक्षा अवधिमा कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
नाफा घटेर ठूलो नोक्सानीमा गएसँगै कम्पनीको सञ्चित नाफा ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक भएको छ । त्यसको असर प्रतिशेयर आम्दानीमा पनि परेको छ । अघिल्लो वर्ष १२ रुपैयाँ ७९ पैसा सकारात्मक रहेको ईपीएस गत आर्थिक वर्षको अन्त्यसम्ममा २१ रुपैयाँ ५० पैसा ऋणात्मक भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ६८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम छ । यस्तै, कम्पनीको महाविपत्ति कोष २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ ।


