कुमारी बैंक लिमिटेडले बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब ३९ लाख रुपैयाँ बराबरका पाँचवटा एआई जडित अत्याधुनिक निगरानी ड्रोन, ५ केभीए क्षमताका तीनवटा पोर्टेबल जेनेरेटर र १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाएको जनाएको छ ।
हालै आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्ला प्रभावित भएका छन् । प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको उल्लेख गरेको छ । कुमारी बैंकले उक्त सहयोगबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
विपद्को कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्स्थापनालाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

