Banijya News

बाढीबाट २७ बैंक कर्मचारी सम्पर्कविहीन, २७ शाखा प्रभावित

1
1.0K Shares

नेपाल बैंकर्स संघले रसुवालगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय क्षति, जनधन तथा भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको हो ।

संघका अनुसार बाढी प्रभावित जिल्लाहरूमा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित रहे पनि विभिन्न बैंकका २७ जना कर्मचारी अझै सम्पर्कमा आउन सकेका छैनन् । बाढी तथा डुबानका कारण बैंकका शाखा तथा सेवा केन्द्रसमेत प्रभावित भएका छन् । विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित क्षेत्रमा नियमित बैंकिङ सेवा सञ्चालन गर्न बैंकहरूलाई चुनौती देखिएको संघले जनाएको छ ।

बाढीबाट माछापुच्छ्रे बैंकको टिमुरे शाखामा कार्यरत पाँच जना कर्मचारी सम्पर्कविहीन छन् । एनएमबी बैंकका टिमुरे शाखाका चार जना कर्मचारीसँग पनि सम्पर्क स्थापित हुन सकेको छैन । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका स्याँफ्रुवेशी र टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत सात जना कर्मचारी अझै सम्पर्कविहीन रहेको बैंकले जनाएको छ ।

बाढीका कारण बैंकका शाखा कार्यालयहरूमा समेत प्रत्यक्ष असर परेको छ । ग्लोबल आईएमई बैंकका सात वटा शाखा बन्द रहेको सूचना जारी गरिएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका पाँच, नबिल बैंकका चार तथा एनआईसी एशिया बैंकका तीन वटा शाखा पनि बन्द रहेका छन् । यसरी विभिन्न बैंकका कुल २७ शाखा प्रभावित अवस्थामा रहेको जनाइएको छ ।

शाखा बन्द भए पनि बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम प्रयोग गर्दै बैंकिङ सेवा निरन्तरता दिने प्रयास गरिरहेका छन् । प्रभावित क्षेत्रमा रहेका सेवाग्राहीलाई आवश्यक सेवा तथा सहयोग उपलब्ध गराउन बैंकहरूले वैकल्पिक माध्यमको प्रयोगलाई प्राथमिकता दिएका छन् ।

संघले प्रभावित क्षेत्रमा बैंकिङ सेवा सहज बनाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ । साथै, सरकारका राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा बैंकिङ क्षेत्रले पूर्ण रूपमा साथ दिने प्रतिबद्धता जनाएको छ ।

बाढीबाट प्रभावित बैंक कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन बैंकिङ क्षेत्रले आफ्नो तर्फबाट सक्दो योगदान गर्ने संघले जनाएको छ । विपद्को अवस्थामा वित्तीय सेवा निरन्तर राख्नुका साथै राहत र पुनःस्थापनामा समेत बैंकिङ क्षेत्र सक्रिय रहने संघको भनाइ छ ।

1

Scroll to Top