महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका अनुसार, भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा प्रदान गरिएको हो । सहयोग रकममा बैंकका तर्फबाट उपलब्ध गराइएको रकमसँगै बैंकमा कार्यरत कर्मचारीको एक दिन बराबरको पारिश्रमिकसमेत समावेश गरिएको छ ।
बैंकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली र देवीघाटलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै बैंकले विपद्को अवस्थामा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाएको छ ।
विपद् प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाले गरिरहेका प्रयासमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत बैंकले जनाएको छ ।

