प्रभु बैंक लिमिटेडले काठमाडौं र वीरगन्जमा सञ्चालनमा रहेका दुई शाखा कार्यालयलाई नजिकैका शाखामा समायोजन गर्ने भएको छ ।
प्रभु बैंकका अनुसार, काठमाडौंको कालिमाटी शाखा टेकु शाखामा समायोजन हुने भएको छ । यी दुई शाखाबीच करिब ३०० मिटरको दूरी रहेको छ । शाखा समायोजनपछि कालिमाटी शाखाका ग्राहकले टेकु शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन् ।
यसैगरी, पर्साको लिंकरोड वीरगन्ज शाखालाई वीरगन्ज शाखामा समायोजन गरिने भएको छ । उक्त दुई शाखाबीच करिब १.५ किलोमिटरको दूरी रहेको बैंकले जनाएको छ । समायोजनपछि लिंकरोड वीरगन्ज शाखाका ग्राहकले वीरगन्ज शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।
बैंकले दुवै शाखाको समायोजन गरी मंसिर २४ गतेदेखि सम्बन्धित शाखाबाट कारोबार सञ्चालन गर्ने जनाएको छ । शाखा समायोजनसँगै ती कार्यालयमा रहेका फर्निचर, फिक्चर, उपकरण तथा लिजहोल्ड इम्प्रुभमेन्टलगायतका सम्पत्तिसमेत बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकका अनुसार, उक्त स्थानमा शाखा कार्यालय सञ्चालन गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था वा बीमा कम्पनीले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र आवश्यक निवेदनसहित बैंकको केन्द्रीय कार्यालय बबरमहलमा सम्पर्क गर्न सक्नेछन् ।

