Banijya News

एक्काइस बुँदे कार्ययोजनाको प्रभाव शेयर बजारमा, नेप्से र कारोबार रकम दुबै बढ्यो

1
1.0K Shares

अर्थ मन्त्रालयले घोषणा गरेको ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ को सकारात्मक प्रभाव पूँजीबजारमा परेको देखिएको छ । बाढी पहिरोका कारण अर्थतन्त्र तथा जलविद्युत क्षेत्रमा परेको असरलाई चिर्दै बजारमा व्यापक तरलता र लगानी बढाउने उद्देश्यका साथ ल्याइएको २१ बुँदे कार्ययोजनाले आम लगानीकर्ताहरुमा उत्साह जगाएको छ ।

फलस्वरुप, आज मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ९.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१३ अंक बढेको छ ।

आज मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो सोमबार ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ । त्यस्तै, सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको मूल्य सर्वाधिक ५.५५ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन् । त्यस्तै, शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

1

Scroll to Top