Banijya News

कृष्णभीरको नयाँ बाटो खुलेसँगै ग्यास आपूर्ति सहज हुँदै, पुरानै मूल्य कायम हुने

1
1.0K Shares

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा नयाँ डाइभर्सन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुने भएको छ । सडक अवरोधका कारण लामो समयदेखि वैकल्पिक मार्गमार्फत ग्यास ढुवानी गर्नुपर्ने अवस्था अन्त्य हुँदै गएपछि उपत्यका केन्द्रित ग्यास उद्योगले आफ्नै बोटलिङ तथा रिफिलिङ प्लान्टबाट सिलिण्डर भरेर बजारमा पठाउने भएका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार शुक्रबारदेखि काठमाडौं, धादिङ र काभ्रेलाई केन्द्र बनाएर सञ्चालनमा रहेका २० वटा ग्यास उद्योगले आफ्नै कारखानामा सिलिण्डर रिफिल गरी बजारमा पठाउनेछन् । यससँगै उपभोक्ताले घरपायक ग्यास बिक्रेताबाटै साबिककै मूल्यमा भरिएको सिलिण्डर पाउने व्यवस्था मिलाइएको छ । नेपाल आयल निगमले हाल एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २ हजार ६० रुपैयाँ तोकेको छ ।

यसअघि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा तराई तथा आसपासका जिल्लामा रहेका उद्योगबाट ग्यास सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याउनुपर्ने बाध्यता थियो । लामो तथा कठिन वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी खर्च बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले भदौ १८ गतेदेखि प्रतिसिलिण्डर १ सय ५ रुपैयाँ ३८ पैसा अतिरिक्त ढुवानी भाडा थप गरी अधिकतम २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसासम्ममा ग्यास बिक्री गर्न सरकारबाट अनुमति पाएको थियो ।

तर, कृष्णभीर हुँदै ग्यास बोकेका बुलेट नियमित रूपमा उपत्यका भित्रिन थालेपछि अतिरिक्त ढुवानी खर्च हटाइएको संघले जनाएको छ । संघले बिहीबार जारी गरेको आन्तरिक सर्कुलेसनमार्फत उपत्यका केन्द्रित उद्योगलाई पुरानै व्यवस्थाअनुसार आफ्नै प्लान्टमा सिलिण्डर भरेर साबिककै मूल्यमा बिक्री–वितरण गर्न निर्देशन दिएको हो ।

रसुवामा आएको बाढीपछि पृथ्वी राजमार्गको कृष्णभीर, परेवा भीर, चरे (चालीसे) र पात्लेवनलगायतका स्थानमा सडक क्षतिग्रस्त हुँदा काठमाडौं उपत्यकामा ग्यासको नियमित आपूर्ति प्रभावित भएको थियो । त्यसपछि ग्यास उद्योगहरूले वैकल्पिक मार्ग प्रयोग गरेर उपत्यकामा ग्यास आपूर्ति गर्दै आएका थिए ।

कृष्णभीरमा पहाडको भित्तो काटेर २७० मिटर लामो र ७ मिटर चौडा नयाँ वैकल्पिक मार्ग निर्माण गरिएको छ । उक्त डाइभर्सन सञ्चालनमा आएपछि बिहीबार बिहानदेखि ग्यास बुलेटसहित मालवाहक तथा यात्रुवाहक सवारीसाधन पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्न थालेका छन् ।

संघका अध्यक्ष दिवान चन्दका अनुसार मंगलबारदेखि सीमित संख्यामा ग्यास बुलेट पृथ्वी राजमार्ग हुँदै उपत्यका भित्र्याउन सुरु गरिएको थियो । बिहीबारदेखि भने सडकमा ठूलो अवरोधबिना बुलेट सञ्चालन गर्न सकिने अवस्था बनेको छ ।

उनका अनुसार बुलेट नियमित रूपमा उपत्यका आउन थालेसँगै ग्यास उद्योगको आपूर्ति प्रणाली पनि सामान्य अवस्थामा फर्किन थालेको छ । यसबाट उपभोक्ताले विगतमा जस्तै नजिकैको बिक्रेताबाट तोकिएको मूल्यमा ग्यास खरिद गर्न सक्नेछन् ।

बाढीपहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड सञ्चालनमा आएसँगै काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकार र नेपाल आयल निगमले चौतर्फी पहल थालेको छ । आपूर्ति व्यवस्था तीव्र पारिएकाले आगामी ५ देखि ७ दिनभित्र उपत्यकामा ग्यासको अवस्था पूर्ण रूपमा सामान्य हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

त्यसो त, भारतबाट आयात परिमाण बढाउनेदेखि ढुवानीका लागि थप १६० वटा ग्यास बुलेट भित्र्याउनेसम्मका कूटनीतिक र प्रशासनिक तयारी अघि बढाइएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतका अनुसार, हाल मासिक ५० हजार मेट्रिक टन रहेको एलपी ग्यासको आपूर्तिलाई बढाएर ६० हजार मेट्रिक टनभन्दा बढी पुर्‍याउने गरी कूटनीतिक पहल भइरहेको छ । उनका अनुसार, नेपाललाई थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउने विषयमा भारत सरकारबाट सकारात्मक प्रतिक्रियासमेत प्राप्त भइसकेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार काठमाडौं उपत्यकामा सामान्यतया दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यासको माग तथा खपत हुने गरेको छ । हाल सरकारले दैनिक ५० हजार सिलिन्डर भित्र्याउने लक्ष्य राखेको भए पनि वास्तविक रूपमा ३५ हजारदेखि ५० हजारको हाराहारीमा मात्र सिलिन्डर वितरण भइरहेको थियो । यही माग र आपूर्तिको अन्तरका कारण बजारमा केही अभाव र लाइन बस्नुपर्ने अवस्था देखिएको हो । यो समस्या समाधान गर्न नेपाल आयल निगमले काठमाडौं उपत्यकालाई लक्षित गरी दैनिक ५० हजारदेखि ६० हजारभन्दा बढी सिलिन्डर बजारमा पठाउने तयारी गरेको छ ।

कार्यकारी निर्देशक साहका अनुसार, आईओसीलाई उपत्यका केन्द्रित उद्योगहरुको मागअनुसार पर्याप्त परिमाणमा ग्यासको बुलेट उपलब्ध गराउन आग्रह गरिएको छ । साथै, पीडिओ(प्रडक्ट डेलिभरी अर्डर) जारी गर्दा पनि उपत्यका केन्द्रित उद्योगलाई तत्कालको लागि पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएको उनको भनाइ छ ।

मन्त्रालय र निगम दुवै तहबाट आईओसीसँग अधिकतम लोड उपलब्ध गराउन निरन्तर समन्वय भइरहेको छ । आगामी एक हप्ताभित्र समग्र आपूर्ति प्रणाली पूर्ण रूपमा सहज भइसक्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको कार्यकारी निर्देशक साहको भनाइ छ ।

1

Scroll to Top