Banijya News

क्यूआर कारोबारमा नयाँ प्रवृत्ति, संख्या बढ्दा रकममा आयो गिरावट

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोडमार्फत हुने कारोबारको संख्या बढेको छ । तर, सोही अवधिमा क्यूआरमार्फत हुने कारोबारको रकम भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचकअनुसार क्यूआर कोडमार्फत हुने कारोबारमा यस्तो प्रवृत्ति देखिएको हो ।

तथ्यांकअनुसार असार मसान्तबाट साउन मसान्तसम्म क्यूआर कोडमार्फत हुने कारोबार रकम २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेको थियो । यससँगै साउन मसान्तसम्म यस्तो कारोबारको कुल रकम १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको थियो ।

तर, साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा क्यूआर कारोबार रकम २५ अर्ब ४७ करोड ९० लाख रुपैयाँले घटेको छ । भदौ मसान्तसम्म क्यूआरमार्फत भएको कारोबार रकम १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँमा सीमित भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

अर्कोतर्फ, क्यूआर कारोबारको संख्या भने लगातार बढिरहेको छ । असार मसान्तबाट साउन मसान्तसम्म कारोबार संख्या ५९ लाख ६९ हजार ७७० ले बढेको थियो। यससँगै साउन मसान्तसम्म क्यूआर कारोबार संख्या ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको थियो ।

भदौ महिनामा पनि कारोबार संख्यामा वृद्धि कायम रह्यो । साउन मसान्तको तुलनामा भदौ मसान्तसम्म क्यूआर कारोबार संख्या २८ लाख ९३ हजार ३२५ ले थपिएको छ । यससँगै भदौ मसान्तसम्म क्यूआरमार्फत भएको कारोबार संख्या ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको छ ।

यसरी पछिल्लो एक महिनामा क्यूआर कारोबारको संख्या बढे पनि कारोबार रकम घटेको देखिन्छ । यसले क्यूआरमार्फत हुने कारोबारमा साना रकमका भुक्तानीको हिस्सा बढेको हुन सक्ने देखिए पनि यसको कारण भने राष्ट्र बैंकको उक्त तथ्यांकले स्पष्ट गरेको छैन ।

1

Scroll to Top