Banijya News

वित्तीय स्थायित्व र सदस्यको पुँजी सुरक्षामा राष्ट्रिय सहकारी बैंकको जोड

1
1.0K Shares

राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ मा भएका पछिल्ला परिवर्तन कार्यान्वयन गर्दा सदस्य सहकारी संस्थाको हित संरक्षण, वित्तीय स्थायित्व र जोखिम व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । बैंकले नयाँ संरचना निर्माण गर्नुभन्दा विद्यमान समस्याको समाधान हुने गरी कानुनसम्मत प्रक्रिया अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेको हो ।

बैंक सञ्चालक समितिको असोज २१ गतेको निर्णयअनुसार शुक्रबार जारी विज्ञप्तिमा प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण र सहकारी रजिष्ट्रारको कार्यालयबाट जारी निर्देशन पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बैंकले सदस्य सहकारी संस्थाहरूको बचत तथा ऋण कारोबार व्यवस्थापनका लागि नयाँ संरचना निर्माण गर्दा समस्या समाधान हुनुको सट्टा थप जटिलता उत्पन्न हुन सक्ने भन्दै सचेत गराएको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न एकीकरणलगायतका प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाउनुपर्ने उसको भनाइ छ ।

एकीकरण वा अन्य संरचनागत परिवर्तनका क्रममा सम्बन्धित संस्थाको सम्पत्ति तथा दायित्वको वास्तविक अवस्था पहिचान गर्नुपर्ने बैंकले जनाएको छ । यसका लागि स्वतन्त्र ‘ड्यु डिलिजेन्स अडिट’ प्रतिवेदनलाई आधार बनाउनुपर्नेमा बैंकले जोड दिएको छ । यस्तो मूल्यांकनले संस्थाको वास्तविक वित्तीय अवस्था पहिचान गर्न तथा सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने बैंकको धारणा छ ।

त्यस्तै, सदस्य सहकारी संस्थाको शेयर पुँजीको उचित मूल्यांकन, सदस्यको स्वामित्व संरक्षण र लोकतान्त्रिक शासन प्रणालीको निरन्तरतामा समेत बैंकले जोड दिएको छ । सहकारी संस्थाको संरचनागत परिवर्तन गर्दा सदस्यको अधिकार र लगानीमा असर पर्न नहुने उसको भनाइ छ ।

विज्ञप्तिअनुसार सहकारी संस्थाले आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म मात्र बाह्य कर्जा लिन पाउने व्यवस्था छ । त्यसैगरी, सहकारी बैंकले कुनै एक सदस्य संस्थालाई उक्त संस्थाको कुल सम्पत्तिको १५ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न नपाउने कानुनी सीमा रहेको बैंकले उल्लेख गरेको छ ।

यी कानुनी तथा नियामकीय सीमाका कारण सदस्य सहकारी संस्थालाई थोक कर्जा उपलब्ध गराउने क्रममा चुनौती सिर्जना भएको पनि बैंकले जनाएको छ । सीमित कर्जा प्रवाह क्षमताबीच सदस्य संस्थाको वित्तीय आवश्यकता सम्बोधन गर्नु बैंकका लागि चुनौतीपूर्ण रहेको संकेत विज्ञप्तिले गरेको छ ।

बैंकले कर्जा, तरलता तथा सञ्चालनसम्बन्धी जोखिमको उचित पहिचान र व्यवस्थापन हुन नसके त्यसको असर समग्र सहकारी वित्तीय प्रणालीमा पर्न सक्ने जनाएको छ । त्यसैले विवेकशील नियमन, प्रभावकारी जोखिम व्यवस्थापन र संस्थागत सुशासनमार्फत सहकारी क्षेत्रको वित्तीय स्थायित्व कायम गर्नुपर्नेमा जोड दिएको छ ।

सदस्य सहकारी संस्थाको पुँजी सुरक्षा, वित्तीय प्रणालीप्रतिको विश्वास र सहकारी अभियानको दीर्घकालीन हितलाई प्राथमिकतामा राखेर बैंक सञ्चालन गर्ने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ । बैंकले सदस्य संस्थासँगको सहकार्यलाई निरन्तरता दिँदै वित्तीय स्थायित्व र संस्थागत सुशासन सुदृढ गर्ने जनाएको छ ।

1

Scroll to Top