Banijya News

निर्जीवन बीमामा सम्पत्ति र मोटरको हिस्सा ५३ प्रतिशतभन्दा बढी

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँको व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा निर्जीवन बीमकहरूले कुल ९ अर्ब ९७ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

समीक्षा अवधिमा १४ वटा निर्जीवन बीमा कम्पनी र चार वटा लघु निर्जीवन बीमा कम्पनीले विभिन्न बीमा क्षेत्रमार्फत उक्त बीमाशुल्क संकलन गरेका छन् । बीमा व्यवसायमा सम्पत्ति र मोटर बीमाको हिस्सा सबैभन्दा बढी देखिएको छ । यी दुई क्षेत्रबाट मात्रै कुल बीमाशुल्कको ५३ प्रतिशतभन्दा बढी रकम संकलन भएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार सम्पत्ति बीमातर्फ सबैभन्दा धेरै २ अर्ब ७० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कुल बीमा व्यवसायमा यस क्षेत्रको हिस्सा २७.१४ प्रतिशत रहेको छ । घर, भवन, उद्योग तथा अन्य सम्पत्तिको जोखिम सुरक्षण गर्ने सम्पत्ति बीमाले निर्जीवन बीमा व्यवसायमा महत्वपूर्ण योगदान दिएको देखिन्छ ।

त्यस्तै, मोटर बीमा दोस्रो ठूलो व्यवसायको क्षेत्र बनेको छ । समीक्षा अवधिमा कम्पनीहरूले मोटर बीमाबाट २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । कुल बीमाशुल्कमा मोटर बीमाको योगदान २६.१४ प्रतिशत रहेको छ । यससँगै सम्पत्ति र मोटर बीमाबाट मात्रै कुल ५ अर्ब ३१ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा व्यवसायका आधारमा तेस्रो स्थानमा रहेको छ । यस क्षेत्रबाट कम्पनीहरूले १ अर्ब ५० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यवसायमा यसको हिस्सा १५.१२ प्रतिशत रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

यसैगरी, विविध बीमातर्फ ९० करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कुल बीमा व्यवसायमा यसको हिस्सा ९.०२ प्रतिशत रहेको छ । सामुद्रिक बीमाबाट ७९ करोड १५ लाख रुपैयाँ अर्थात् ७.९३ प्रतिशत र हवाई बीमाबाट ४९ करोड २ लाख रुपैयाँ अर्थात् ४.९१ प्रतिशत बीमाशुल्क संकलन भएको छ ।

स्वास्थ्य बीमातर्फ ४२ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको ४.२३ प्रतिशत हो । त्यस्तै, पशुपन्छी तथा कृषि बीमाबाट ३८ करोड ६३ लाख रुपैयाँ अर्थात् ३.८७ प्रतिशत बीमाशुल्क संकलन भएको छ ।

लघु बीमातर्फ १४ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । कुल व्यवसायमा यसको योगदान १.४६ प्रतिशत रहेको छ । सबैभन्दा कम दायित्व बीमाबाट १ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ, जुन कुल व्यवसायको ०.१७ प्रतिशत हो ।

तथ्यांकले निर्जीवन बीमा व्यवसायमा सम्पत्ति, मोटर तथा इन्जिनियरिङ बीमाको उल्लेख्य हिस्सा रहेको देखाउँछ । अन्य बीमा क्षेत्रको योगदान भने तुलनात्मक रूपमा कम रहेको छ ।

1

Scroll to Top