Banijya News

एडीबीको ४७ अर्बभन्दा बढी सहायता स्वीकृत, नारायणगढ–हेटौंडा सडक चार लेनमा विस्तार गरिने

1
1.0K Shares

एसियाली विकास बैंक (एडीबी)ले नेपालको पूर्व–पश्चिम राजमार्ग र पृथ्वी राजमार्गका महत्वपूर्ण खण्ड विस्तार तथा वन्यजन्तु संरक्षणका लागि करिब ४७ अर्ब २३ करोड रुपैयाँ बराबरको वित्तीय सहायता स्वीकृत गरेको छ । सडक पूर्वाधार सुधार, यातायात सम्पर्क विस्तार, सडक सुरक्षा अभिवृद्धि र जैविक विविधता संरक्षणलाई लक्षित गर्दै एडीबीले उक्त सहायता स्वीकृत गरेको हो ।

नेपाल राष्ट्र बैंकले अक्टोबर १२ का लागि तोकेको प्रतिअमेरिकी डलर १५४ रुपैयाँ ४८ पैसा खरिद दरका आधारमा स्वीकृत सहायता प्याकेजको मूल्य ४७ अर्ब २३ करोड २२ लाख ६० हजार रुपैयाँ बराबर हुन्छ । विनिमय दरमा हुने परिवर्तनसँगै यसको नेपाली रुपैयाँमा गणना गरिएको मूल्य पनि परिवर्तन हुन सक्नेछ ।

स्वीकृत वित्तीय सहायता प्याकेजमा करिब ४४ अर्ब दुई करोड ६८ लाख रुपैयाँ ऋण, तीन अर्ब आठ करोड ९६ लाख रुपैयाँ अनुदान र ११ करोड ५८ लाख ६० हजार रुपैयाँ प्राविधिक सहायता समावेश छन् । यसबाट राजमार्ग स्तरोन्नति, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण, वातावरण संरक्षण र यातायात क्षेत्रको संस्थागत क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछन् ।

दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) कार्यक्रमअन्तर्गत कार्यान्वयन हुने राजमार्ग सुधार तथा पारिस्थितिक प्रणाली पुनःस्थापना आयोजनाले नारायणगढ–हेटौंडा खण्डको करिब ७० किलोमिटर सडक स्तरोन्नति गर्नेछ । हाल दुई लेनमा सञ्चालन भइरहेको उक्त सडकलाई चार लेनमा विस्तार गरिने एडीबीले जनाएको छ । यसबाट सवारी आवागमन सहज हुनुका साथै यात्राको समय घटाउन र सडकको क्षमता वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजनाको अर्को महत्वपूर्ण पक्ष वन्यजन्तु संरक्षण हो । चितवन क्षेत्रको बरन्डाभार वन्यजन्तु करिडोरमा जमिनभन्दा माथि उठाइएको सडक संरचना निर्माण गरिनेछ । उक्त संरचनाबाट सवारीसाधन माथिल्लो भागबाट गुड्ने र वन्यजन्तुले सडकको तल्लो भागबाट आवतजावत गर्न सक्ने व्यवस्था मिलाइनेछ । यसले वन्यजन्तुको प्राकृतिक आवागमन मार्ग कायम राख्न र सवारीसाधनसँग ठोक्किएर हुने दुर्घटना न्यूनीकरण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डको बाँकी ८.७ किलोमिटर सडक पनि चार लेनमा विस्तार गरिनेछ । यसअन्तर्गत नयाँ सडक खण्ड तथा पुल निर्माणका काम समावेश गरिएका छन् । सडक विस्तारपछि उक्त क्षेत्रमा यातायात सञ्चालन थप व्यवस्थित र सुरक्षित हुने अपेक्षा गरिएको छ ।

नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नो कोस्वाले आयोजनाले मानिस, व्यवसाय र पर्यटनका लागि यातायात सम्पर्क सुधार गर्नुका साथै वन्यजन्तुको आवागमन मार्ग पुनःस्थापना गर्न सहयोग गर्ने बताएका छन् । उनका अनुसार सडक पूर्वाधार विकास र पारिस्थितिक प्रणाली संरक्षणलाई एकसाथ अघि बढाउनु आयोजनाको महत्वपूर्ण उद्देश्य हो ।

आयोजनाका लागि उपलब्ध गराइने अनुदान जैविक विविधता संरक्षण, वन्यजन्तुको आवागमनका लागि आवश्यक संरचना निर्माण तथा चितवन क्षेत्रमा दिगो पर्यटन प्रवद्र्धनमा उपयोग गरिनेछ । साथै, सडक सुरक्षा सुधार, महिलाका लागि सीपमूलक तालिम सञ्चालन र दिगो यातायात योजनासम्बन्धी संस्थागत क्षमता अभिवृद्धिमा पनि सहयोग गरिनेछ ।

जलवायुजन्य विपद्को जोखिमलाई ध्यानमा राखेर आयोजनामा बाढीपहिरोबाट सडक पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणका उपायसमेत समावेश गरिएका छन् । यसअन्तर्गत ढल निकास प्रणाली सुधार, तटबन्ध सुदृढीकरण, भिरालो जमिन स्थिरीकरण तथा विपद् प्रतिरोधी पुलका डिजाइन तयार गर्ने काम गरिनेछ ।

सडक विस्तारसँगै वातावरणीय प्रभाव न्यूनीकरण र विपद् जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइएकाले आयोजनाले नेपालको यातायात पूर्वाधारलाई थप सुरक्षित, दिगो र वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

1

Scroll to Top