साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचक आज ४.०० अंक बढेर २५९५.८१ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक बढेको छ ।
१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ । त्यस्तै, बैंकिङ उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ ।
सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । गत शुक्रबार ४ अर्ब ८३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ४ अर्ब ४६ करोड ५२ लाख ४६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज कारोबार भएकामध्ये धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य १६४ रुपैयाँ १० पैसा बढेर १ हजार २५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, स्नो रिभर्सको शेयरमूल्य करिब १४ प्रतिशत बढेको छ । कारोबारमा आएको रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक ६.२९ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २५ करोड १९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, घलेम्दी हाइड्रोको करिब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने साहस उर्जाको कारोबार रकम साढे १९ करोड रुपैयाँ नाघेको छ ।

