Banijya News

बुस्टर फिडको व्यापार २ अर्ब ३१ करोड नाघ्यो, एक वर्षमै १७ प्रतिशत वृद्धि

1
1.0K Shares

नेपाली बजारमा बुस्टर र सौगुना ब्रान्डका पशुपन्छीको दाना बिक्री गर्दै आएको बुस्टर फिड इन्डष्ट्रिजले एकै वर्षमा २ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो। उत्पादन क्षमता विस्तारसँगै कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ ।

कम्पनीको व्यापार सन् २०२५ मा १ अर्ब ९७ करोड १० लाख रुपैयाँ र सन् २०२४ मा १ अर्ब ९१ करोड ८० लाख रुपैयाँ थियो । सन् २०२५ को तुलनामा सन् २०२६ मा कम्पनीको व्यापार १७ प्रतिशतले बढेको हो । त्यस्तै, सन् २०२३ देखि सन् २०२६ सम्मको अवधिमा कम्पनीको समग्र वार्षिक व्यापार वृद्धिदर ८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन क्षमता प्रतिघण्टा १५ मेट्रिक टनबाट बढाएर २५ मेट्रिक टन पुर्‍याएपछि व्यापार विस्तारमा सहयोग पुगेको हो । क्षमता विस्तारसँगै बढेको उत्पादन र बजारमा वितरणको विस्तारले कम्पनीको व्यावसायिक गतिविधि बढाउन मद्दत गरेको देखिन्छ ।

व्यापारमा भएको वृद्धिसँगै कम्पनीको सञ्चालन नाफासमेत बढेको छ । सन् २०२५ मा १४ करोड ८० लाख रुपैयाँ रहेको सञ्चालन नाफा सन् २०२६ मा बढेर १५ करोड ७० लाख रुपैयाँ पुगेको छ । यद्यपि, कम्पनीको सञ्चालन मार्जिन भने घटेको छ । सन् २०२५ मा ७.५१ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२६ मा ६.८१ प्रतिशतमा झरेको हो। यसले व्यापारको आकार बढे पनि कुल व्यापारको अनुपातमा सञ्चालन नाफाको हिस्सा केही घटेको देखाउँछ ।

कम्पनीको ग्रस क्यास एक्रुअल पनि बढेको छ । सन् २०२५ मा १० करोड ५० लाख रुपैयाँ रहेको यस्तो रकम सन् २०२६ मा बढेर ११ करोड २० लाख रुपैयाँ पुगेको छ । तर, कुल ऋण र ग्रस क्यास एक्रुअलको अनुपात भने बढेको छ । सन् २०२५ मा ३.१९ गुणा रहेको उक्त अनुपात सन् २०२६ मा ३.५९ गुणा पुगेको छ ।

कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ को ०.६९ गुणाबाट बढेर सन् २०२६ मा ०.७४ गुणा पुगेको छ । यस अवधिमा कम्पनीको खुद सम्पत्ति पनि बढेको छ । सन् २०२५ मा ४८ करोड ९० लाख रुपैयाँ रहेको खुद सम्पत्ति सन् २०२६ मा ५४ करोड ६० लाख रुपैयाँ पुगेको हो । कम्पनीको ब्याज भुक्तानी क्षमता मापन गर्ने ब्याज कभरेज अनुपात ७.९४ गुणा रहेको छ ।

सन् २०१४ मा स्थापना भएको बुस्टर फिड इन्डष्ट्रिजले ब्रोइलर तथा लेयर कुखुराको दाना, गाईवस्तुको दाना र बंगुरको दाना उत्पादन गर्दै आएको छ । कम्पनीले बुस्टर र सौगुना ब्रान्डमार्फत नेपाली बजारमा आफ्ना उत्पादन बिक्री गर्दै आएको छ । हाल प्रतिघण्टा २५ मेट्रिक टन उत्पादन क्षमतामा सञ्चालन भइरहेको कम्पनीको देशभर १५० भन्दा बढी वितरण केन्द्र छन् ।

गोपाल टन्डन अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कुल ८३ करोड रुपैयाँको क्रेडिट रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ६६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७५ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको हो ।

उत्पादन क्षमता विस्तार, बढ्दो व्यापार र वितरण सञ्जालको विस्तार कम्पनीका प्रमुख व्यावसायिक पक्षका रूपमा देखिएका छन् । यद्यपि, सञ्चालन मार्जिनमा आएको गिरावट र कुल ऋणको तुलनामा ग्रस क्यास एक्रुअलको अनुपातमा भएको वृद्धिले आगामी दिनमा कम्पनीको लागत व्यवस्थापन, नगद प्रवाह र ऋण व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ ।

1

Scroll to Top