नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उत्साहजनक वृद्धि देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो सात महिना अर्थात् माघ मसान्तसम्ममा नेपालमा कुल १३ अर्ब ८४ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको ५ हजार ८ सय ९४ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधन आयात भएका छन् ।
प्रतिवेदनका अनुसार यसरी भित्रिएका सवारी साधनहरूमा विशेषगरी व्यक्तिगत प्रयोजनका कार, जीप र भ्यानका साथै उच्च क्षमताका अतिरिक्त मोटर पावर भएका विद्युतीय सवारीहरू रहेका छन् । विभागको यस तथ्याङ्कमा दुईपाङ्ग्रे र तीनपाङ्ग्रे सवारी साधनलाई भने समावेश गरिएको छैन।
विद्युतीय सवारीको बढ्दो आयातले मुलुकको राजस्व संकलनमा समेत ठूलो योगदान पुर्याएको देखिन्छ । समीक्षा अवधिमा आयात भएका ती ५ हजार ८ सय ९४ थान सवारी साधनबाट सरकारले कुल ८ अर्ब ४६ करोड १९ लाख ८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ । पछिल्लो समय इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढ्नु र सरकारले पनि सोही अनुरूपको राजस्व नीति लिँदा यस क्षेत्रबाट राज्यकोषमा उल्लेख्य योगदान पुग्न गएको हो ।
भौगोलिक र व्यापारिक हिसाबले नेपालमा विद्युतीय गाडीको स्रोत मुलुकहरू पनि विविधीकरण हुँदै गएका छन् । भन्सार विभागका अनुसार माघ मसान्तसम्ममा विश्वका आठवटा प्रमुख देशहरूबाट नेपालमा विद्युतीय चारपाङ्ग्रे सवारी साधन भित्रिएका छन् । जसमा छिमेकी मुलुकहरू चीन र भारतको वर्चस्व कायम रहे पनि जर्मनी, दक्षिण कोरिया, इण्डोनेसिया, अमेरिका, अस्ट्रिया र बेलायतबाट समेत विभिन्न ब्राण्डका विद्युतीय गाडीहरू आयात भएका छन्। विशेषगरी चिनियाँ र भारतीय ब्राण्डका ईभीहरू नेपाली बजारमा बढी लोकप्रिय देखिएका छन् भने अन्य मुलुकबाट प्रिमियम र उच्च क्षमताका सवारीहरू भित्रिने क्रम जारी छ ।
सात महिनाको यो आँकडाले नेपालमा दिगो यातायात प्रणालीको विकासमा ईभीको भूमिका महत्त्वपूर्ण बन्दै गएको दर्शाउँछ । आयातको यो गतिलाई हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा विद्युतीय सवारीको संख्या र यसबाट उठ्ने राजस्व अझै बढ्ने अनुमान गरिएको छ । स्वच्छ ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने राष्ट्रिय लक्ष्य र उपभोक्ताको बढ्दो चाहनाका कारण आगामी दिनमा चार्जिङ पूर्वाधारको विकास र व्यवस्थापनमा थप लगानी आवश्यक देखिएको छ, जसले गर्दा विद्युतीय सवारीको बजार अझ व्यवस्थित र दिगो बन्न सफल हुनेछ ।


