Banijya News

अब ट्याक्सी किन्नै नपर्ने सिप्रदीले ल्यायो दैनिक भाडामा टाटा एक्सप्रेस टी चलाउने स्किम

1
1.0K Shares

 नेपाली सडकमा निजी सवारी साधनमा मात्र नभएर सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति तीव्र रूपमा बढिरहेको छ। विशेषगरी सहरी क्षेत्रको यातायातको मेरुदण्ड मानिने ट्याक्सी व्यवसायमा अहिले ठूलो रूपान्तरण देखिन थालेको छ। विगत लामो समयदेखि सडकमा एकछत्र राज गरिरहेका परम्परागत पेट्रोलियम (पेट्रोल/डिजेल) ट्याक्सीहरूलाई विस्थापित गर्दै अहिले नयाँ र आधुनिक विद्युतीय ट्याक्सीहरूले स्थान ओगट्न थालेका छन्।

पछिल्लो समय अचाक्ली बढिरहेको इन्धनको मूल्य र पेट्रोलियम गाडीको महँगो मर्मतसम्भार खर्चका कारण आजित भएका ट्याक्सी व्यवसायीहरूका लागि ईभी उत्कृष्ट विकल्प बनेको छ। व्यवसायिक फाइदा मात्र नभई, सहरको बढ्दो वायु र ध्वनि प्रदूषणबाट मुक्त हुन चाहने चालक र यात्रु दुवैका लागि यी विद्युतीय ट्याक्सीहरू बरदान सावित भइरहेका छन्। ईभी ट्याक्सीमा यात्रा गर्दा आवाज नआउने, सिटहरू आरामदायी हुने र यात्रा सहज हुने भएकाले सर्वसाधारण यात्रुहरूको रोजाइमा पनि पहिलो प्राथमिकता विद्युतीय ट्याक्सी नै पर्न थालेको छ।

यसैबीच, नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ट्याक्सी चालक र व्यवसायीहरूलाई लक्षित गर्दै बजारमा एउटा नितान्त नयाँ र क्रान्तिकारी अवधारणा भित्र्याएको छ। कम्पनीले टाटाको विशेष विद्युतीय ट्याक्सी एक्सप्रेस–टी मार्फत नयाँ व्यावसायिक मोडल सुरु गरेको हो।

यो अवधारणा अन्तर्गत अब चालकहरूले लाखौं रुपैयाँ लगानी गरेर वा चर्को ब्याजमा ऋण काढेर आफैं ट्याक्सी किन्नु पर्ने बाध्यता हट्नेछ। ट्याक्सी पूर्ण रूपमा कम्पनीले नै उपलब्ध गराउनेछ। चालकले दैनिक रूपमा एउटा निश्चित (सर्टेन) रकम कम्पनीलाई बुझाए पुग्छ। दिनभरको अन्य सम्पूर्ण कमाइ चालकले आफैं राख्न पाउनेछन्।

यो मोडेलले गर्दा ट्याक्सी किन्ने प्रारम्भिक पूँजी (डाउनपेमेन्ट) नभएका तर सवारी चलाएरै जीविकोपार्जन गर्न चाहने चालकहरूका लागि ठूलो रोजगारीको अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। इन्धनको बचत र न्यून मर्मत खर्चका कारण दैनिक भाडा बुझाएर पनि चालकहरूले परम्परागत ट्याक्सीको तुलनामा धेरै राम्रो आम्दानी गर्न सक्नेछन्। सिप्रदीको यो नयाँ प्रयासले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई डिजिटल र वातावरणमैत्री बनाउन थप ऊर्जा थप्ने देखिन्छ।

1

Scroll to Top