Banijya News

ईभी कर हेरफेरमा ठूलो आर्थिक चलखेल भएको एमाले सांसद थेबेको आरोप

1
1.0K Shares

नेकपा एमालेका सांसद क्षितिज थेबेले विद्युतीय सवारी साधन (ईभी) को करको दर निर्धारणमा ठूलो नीतिगत र आर्थिक चलखेल भएको गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले जेठ १५ गते सार्वजनिक भएको आर्थिक विधेयकमा २० देखि ३० लाख मूल्य दायराका ईभीको करको दररेट नियतवश हेरफेर गरिएको दाबी गरे।

संसदमा दर्ता भएको आधिकारिक विधेयक र पछि मन्त्रालयको वेबसाइटमा अपलोड गरिएको विवरण फरक पाइएको भन्दै उनले सुरुमा यसलाई ‘टाइपिङ मिस्टेक’ भनिए पनि मन्त्रालयले वेबसाइटबाट विधेयक हटाएर पुनः सच्याएर राख्नुले यसभित्र गम्भीर षड्यन्त्र लुकेको पुष्टि गर्ने तर्क गरे।

सांसद थेबेले यो प्रकरण बजारमा ठूलो कोलाहल मच्चाउने खालको नियतवश गरिएको खेल भएको र भन्सारका कर्मचारीहरू निलम्बनमा पर्नुले पनि अनियमिततालाई प्रस्ट पारेको उल्लेख गरे। करको दर हेरफेरमा भएको चलखेलमाथि कडा व्यङ्ग्य गर्दै उनले यसमा भएको आर्थिक लेनदेनलाई नगदमा बदल्ने हो भने एउटा भरियाले बोक्न नसक्ने र ठूलो ट्रक नै चाहिने दाबी गरे।

संसद जस्तो गरिमामय ठाउँमा दर्ता भएको आधिकारिक दस्तावेज नै केरमेट हुनु गम्भीर विषय भएको ठहर गर्दै उनले यसको नैतिक जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने माग गरे। साथै, यो विषयको चित्तबुझ्दो समाधान र स्पष्टता नआएसम्म एमालेले सदनमा विरोध जारी राख्ने चेतावनी समेत दिएका छन्।

1

Scroll to Top