नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक परिपत्र जारी गर्दै सार्वजनिक प्रयोजनका लागि आयात गरिने ठूला विद्युतीय सवारी साधन (ईभी) को कर्जा मूल्य अनुपात लाई बढाएर ८० प्रतिशत पुर्याएको छ । यस नयाँ व्यवस्था अनुसार अब व्यवसायीहरूले सार्वजनिक गुड्ने ठूला विद्युतीय गाडी खरिद गर्दा कुल मूल्यको ८० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न सक्नेछन् ।
यद्यपि, व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने निजी विद्युतीय गाडी तथा अन्य परम्परागत इन्धनबाट चल्ने सवारी साधनको हकमा भने पुरानै नियम लागू हुनेछ । निजी र अन्य गाडीहरूको लागि कर्जा सीमालाई साविककै अधिकतम ६० प्रतिशतमा यथावत राखिएको छ, जसको मतलब निजी गाडी किन्दा ग्राहक आफैंले कम्तीमा ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ ।

