May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्र्यो नयाँ दर ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्र्यो नयाँ दर ?

नेपाल आयल निगमले शुक्रवार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले साँझ जारी गरेको प्रेस विज्ञप्तीमा मूल्य बढेको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा चार रुपैयाँ बढाइएको हो ।

Advertisement

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकिएको निगमले जनाएको छ । पेट्रोल अब ठाउँअनुसार प्रतिलिटर १ सय ७२ रुपैयाँ ५० पैसादेखि १ सय ७५ रुपैयाँ पर्नेछ ।

Advertisement

निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ । डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको भए पनि निगमले मूल्य घटाएन ।

ग्यासमा अझै पनि प्रतिसिलिन्डर २९६ रुपैयाँ १५ पैसा घाटा भएकाले भाउ यथावत राखिएको निगमले जनाएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।