उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी आन्तरिक हेरफेर गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव जितेन्द्र बस्नेतलाई उद्योग विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी दिइएको छ । विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई मन्त्रालयमा तानिएको छ ।
१४ महिना उद्योग विभागको डिजी चलाएका शक्तिशाली सहसचिव ज्ञवालीलाई मन्त्रालयको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाको जिम्मेवारी दिइएको छ । उक्त महाशाखा प्रमुख विपिन आचार्य कर्णाली प्रदेशतिर पुगेपछि ज्ञवालीले अवसर पाएका हुन् ।
औद्योगिक तथा लगानी प्रवद्र्धन महाशाखा प्रमुख बस्नेतलाई उद्योग विभागको डिजीमा पठाउँदै उक्त महाशाखा खोटाङको सिडिओबाट उद्योग छिरेकी कल्पना श्रेष्ठलाई दिइएको छ । बस्नेत २०८० असारदेखि २०८१ भदौ महिनासम्म काठमाडौंको प्रमुख जिल्ला अधिकारी पदमा कार्यरत थिए । उद्योगमा विभागमा महानिर्देशक भइ नियुक्त हुनुअघि उनी उद्योग मन्त्रालयमा थिए ।


