सरकारले तारे होटलहरूको मापदण्ड परिमार्जन गर्ने तयारी गरेको छ । सरकारले कोठाको संख्याभन्दा गुणस्तर, दिगोपन र वातावरणमैत्री पूर्वाधारलाई केन्द्रमा राख्दै मापदण्ड परिमार्जन गर्ने तयारी गरेको तयारी गरेको हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार होटल उद्योगलाई प्रतिस्पर्धी बनाउने र नेपालकै मौलिकता झल्किने गरी मापदण्ड सुधार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।
हाल प्रचलित मापदण्ड अनुसार पाँचतारे होटलको मान्यता पाउन काठमाडौं उपत्यकाभित्र कम्तीमा १०० र उपत्यकाबाहिर ८० कोठा अनिवार्य छ । यस व्यवस्थाले होटल व्यवसायीलाई सेवा र गुणस्तरभन्दा भौतिक संरचना विस्तारमा मात्र केन्द्रित गराएको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको थियो । परिमार्जन हुन लागेको नयाँ मापदण्डमा पानीको न्यून प्रयोग, फोहोर व्यवस्थापन, सरसफाइ, स्वच्छ खाद्य प्रणाली, ऊर्जा दक्षता र वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयलाई अनिवार्य बनाइने तयारी गरिएको छ ।
होटलहरू केवल बसोबास गर्ने स्थान मात्र नभई दिगो पर्यटन अभ्यासको नमुना बन्नुपर्ने अवधारणा अघि सारिएको छ । सोही अनुसार मापदण्ड संशोधनका लागि समिति गठन गरिएको छ । छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचलित अभ्यासलाई आधार मानेर नेपालका लागि नयाँ मापदण्ड तयार गर्नेको लागि समितिको सिफारीमा अगाडि सार्ने तयारी भइरहेको छ ।
होटल मापदण्ड परिमार्जनका लागि पर्यटन मन्त्रालयका सहसचिवको संयोजकत्वमा निर्देशक समिति गठन गरिएको छ । समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, होटल संघ नेपालका अध्यक्ष तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(न्याथम) का प्रतिनिधिहरू सदस्य छन् ।
यसैगरी, प्राविधिक तथा नीतिगत अध्ययनका लागि पर्यटन विभागका निर्देशकको संयोजकत्वमा कार्यदल (टास्क फोर्स) गठन गरिएको छ । कार्यदलमा पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, होटल संघ, न्याथम, वन तथा वातावरण मन्त्रालय र इसिमोडका प्रतिनिधिहरू समावेश छन् । गठित कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । प्रतिवेदनका आधारमा निजी क्षेत्र र सरोकारवालासँग छलफल गरी नयाँ मापदण्डलाई अन्तिम रूप दिइने विभागले जनाएको छ ।
पर्यटन विभागका अनुसार २०८२ साउनसम्म नेपालमा एकदेखि पाँच तारेसम्मका होटलको संख्या २ सय १४ पुगेको छ । पछिल्लो एक वर्षमै ३ हजार २ सय ७० बेड थपिएका छन् भने तारे होटलहरूमा कुल बेड संख्या २० हजार ३४३ पुगेको छ । बढ्दो संख्याका बीच गुणस्तर कायम गर्नु सरकारका लागि चुनौती बनेको छ । सरकारले तारे होटलको मापदण्ड परिमार्जनमार्फत संख्याभन्दा गुणस्तर, कागजभन्दा व्यवहार र तारा पाएपछि पनि निरन्तर अनुगमन हुने प्रणाली विकास गर्न खोजेको विभागले जनाएको छ ।


